संगालोखबर

झापा । निरन्तर वर्षाका कारण झापाका विभिन्न क्षेत्रमा डुबान भएको छ । खासगरी दक्षिणी क्षेत्रमा बढी डुबान भएको छ । डुबानका कारण त्यस क्षेत्रको जनजीवन प्रभावित बनेको छ । मनसुन भित्रिएपछि झापामा निरन्तर पानी परिरहेको छ । सोमवार रातिदेखि भने भारी वर्षा भएको हो ।

Advertisement

मेची, कनकाई, रतुवा, बिरिङ, कमल, किस्ने, देउनिया, निन्दा, मावा, हडिया लगायत नदी तथा खोलामा पानीको बहाव बढेपछि दक्षिणी क्षेत्र डुबानमा परेकोे हो । बाह्रदशी गाउँपालिका, कचनकवल, गौरीगञ्जलगायत क्षेत्रका गाउँ बस्ती डुबानमा परेका छन् । ती क्षेत्रका कतिपय विद्यालयहरु डुबानमा परेका छन् । भलबाढी पस्दा किसानले लगाएको मकैबालीमा नोक्सानी भएको छ ।

प्रहरीका अनुसार कनकाई माई खोलामा आएको बाढीले झापा गाउँपालिकामा लगाइएको मकै खेती नष्ट भएको हो । यसैगरी झापा–२ मा किसानले लगाएको ५० बिघाको मकै खेतीमा भल पसेर क्षति भएको छ ।

शिवसताक्षी र कनकाई नगरपालिका तथा गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल गाउँपालिकाका बस्तीहरू अत्यधिक वर्षाका कारण जोखिममा छन् । जिल्ला प्रशासन कार्यालय झापाका अनुसार डुबान भएका क्षेत्रको तथ्यांक संकलन भइरहेको छ ।

यसैबीच, देशको पूर्वी भागमा मनसुनी प्रणालीको बढी प्रभाव देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले कोशी प्रदेशका विभिन्न क्षेत्रमा रातिदेखि नै वर्षा भइरहेको जनाएको छ ।

मंगलबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रहने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेशलगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!