संगालोखबर

धनकुटा । नेपाल पत्रकार महासंघको धनकुटा शाखामा दुई सातादेखि तालाबन्दी जारी रहँदा शाखाको काम प्रभावित भएको भन्दै पत्रकारका अन्य चारवटा संस्थाले ध्यानाकर्षण भएको जनाएका छन् ।

महासंघको केन्द्रिय समितिले सदस्यता शुद्धीकरणको आधिकारिक नामावली सार्वजनिक नै नगरेको अवस्थामा नेपाल प्रेस युनियन धनकुटा शाखा र केही व्यक्तिहरुले नामावलीको विषयलाई लिएर बेग्लाबेग्लै ताला लगाएर शाखाको काम कारबाही प्रभावित गरेकोप्रति ध्यानाकर्षण भएको ती संस्थाले जनाएका छन् ।

विज्ञप्ति जारी गर्दै उनीहरुले छलफल र सम्वादका माध्यमवाट समस्याको समाधान खोजेर तत्काल तालाबन्दी खुलाउने वातावरण निर्माणका लागि माग गरेको छ । अनावश्यक बखेडा झिकेर महासंघमा तालाबन्दी गरी निर्वाचन प्रभावित गर्ने गतिविधि रोक्न आग्रह गर्दै ती संस्थाले विज्ञप्तिमार्फत यस्तो गतिविधि नरोकिएमा श्रमजीवी पत्रकार र महासंघको संस्थागत हितका लागि जस्तोसुकै कमद चाल्न पनि बाध्य हुने चेतावनीसमेत दिएका छन् ।

प्रेस चौतारी धनकुटाका अध्यक्ष रबिन कटेल, प्रेस सेन्टरका सचिव विपिन दाहाल, प्रेस मञ्च नेपालका इन्चार्ज सन्तवीर लामा र फोनिजकी अध्यक्ष विनु चेम्जोङले विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् ।

बुधबार जारी विज्ञप्तिमा भनिएको छ– ‘पत्रकार महासंघ केन्द्र र जिल्ला शाखाको नेतृत्वमा रहेको संगठन नेपाल प्रेस युनियनले आफ्नै नेतृत्वमा भएको निर्णयको विषयलाई लिएर आफैं तालबन्दी गर्नु लज्जास्पद र हास्यास्पद विषय हो । आफ्ना असन्तुष्टिलाई लोकतान्त्रिक पद्दतिबाट राख्ने प्रक्रिया हुँदाहुँदै महासंघको केन्द्रिय समितिबाट शुद्धीकरणको नामावली सार्वजनिक नगरी सोही विषयमा निर्वाचन नजिकिदै गर्दा अनावश्यक बखेडा झिकेर तालाबन्दीमा उत्रनु अशोभनीय विषय हो ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अझ, तालाबन्दी भएको दुई साता बितिसक्दा पनि महासंघ जिल्ला शाखा नेतृत्वले ताला खुलाउने विषयमा छलफल नै नचलाउनुले महासंघ नेतृत्वले पनि तालाबन्दीलाई मौन समर्थन गरेको हाम्रो ठहर छ । एउटा संगठनको लाभ र हानीको विषयलाई लिएर महासंघमा अनावश्यक चलखेल र राजनीति नगर्न हामी सचेत गराउन चाहन्छौं ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!