- संगालोखबर सम्बाददाता

धनकुटा । श्रीमानले साथ छोडेपनि आफुले दुःख गरेर हुर्काएको एक्लो छोरा १४ औं बर्ष प्रवेश गरेको दिन शनिवार धनकुटाकी रुपकला राई निकै उत्साहित थिइन् । तर, उनको त्यो उत्साह लामो समय टिकेन । साथीहरूसँग आफ्नो जन्मदिन मनाउँन गएका छोरा उदय घर फर्किएनन् । जन्म दिनमै उनी कहिल्यै नफर्किने गरी बिदा भए ।

Advertisement

उदयसँगै उनका साथी स्वर्णिम राईले पनि ज्यान गुमाए । धनकुटा नगरपालिका–६ स्थित पात्लेखोला नजिक निर्माण गरिएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर शनिवार दिउँसो धनकुटा–७ जिरोपइन्टका १४ वर्षीय उदय र धनकुटा–४ स्थित बिहिबारे हटिया नजिकका १५ बर्षीय स्वर्णिमको ज्यान गएको हो । लापरबाही गरेर ‘धराप’ थापे जस्तै गरी राखिएको पोखरीमा डुबेर बालकहरूले ज्यान गुमाउनु परेको भन्दै पीडित पक्ष न्याय खोज्दै प्रहरी कार्यालय पुगेका छन् ।

धनकुटा एग्रो टुरिजम एण्ड फन भ्याली प्रा.लि.ले करिब तीन बर्ष अघि झण्डै छ फिट गहिरो पोखरी निर्माण गरेको हो । सो पोखरीमा शुल्क लिएर बोटिङ्ग र स्वीमिङ्ग गराउँने गरिएको थियो । तर, अहिले त्यसै छोडिएको छ । त्यहाँ बालबालिकादेखि जुनसुकै उमेर समूहका व्यक्ति पनि विना रोकछेक गएर पौडी खेल्ने गरेका छन् । सोही क्रममा स्वर्णिम र उदय पनि साथीहरूसँग पौडी खेल्न दिउँसो करिब १२ बजे त्यहाँ पुगेका थिए । ‘लाइफ ज्याकेट’ विना नै उनीहरु त्यहाँ पौडी खेल्न पसे । टनाटन पानी जमाएर राखिएको पोखरीमा बालकहरू पस्दै गर्दा रोक्ने कोही भएन ।

सँगै पोखरीमा पुगेका उनीहरूका साथी सुदेश राईका अनुसार सुरुमा उनीहरु छेउमा पौडी खेल्दै थिए । पछि पोखरीको बिचतिर गएपछि एक जना डुबे, अर्कोले निकाल्न खोज्दा दुबै जना डुबेका हुन् । पोखरीमा डुबेर छटपटाइरहँदा पनि उनीहरूलाई तत्काल निकाल्ने कोही भएन । ‘मलाई पौडी खेल्न नआउँने भएकाले म बाहिरै बसेको थिए, पौडी खेल्ने क्रममा हेर्दा हेर्दै दुई जना नै डुबेपछि निकाल्ने मान्छे खोज्न म कुदे, पछि एक जना दाई आएर निकाल्नु भयो,’ सुदेशले घटना स्मरण गर्दै संगालोखबरसँग भने, ‘बेलैमा पानीबाट निकालिदिने मान्छे भएको भए त साथीहरू बाँच्थे होला ।’

‘पार्क सञ्चालकको लापरबाही’

उजुरी लिएर प्रहरी कार्यालय पुगेका पीडित पक्ष ।

पार्क सञ्चालकको लापरबाहीका कारण पोखरीमा पानी जमाएर विना रेखदेख छाडिएकाले घटना भएको भन्दै पीडित पक्ष आक्रोशित छन् । उनीहरुले सञ्चालकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउँनुपर्ने माग गरेका छन् ।

धनकुटाका घनेन्द्र न्यौपाने, गोपाल गुरागाईँ, डम्बरबहादुर काफ्ले, विष्णुकुमारी गौतम पोखरेल लगायतले साझेदारीमा सो फर्म सञ्चालन गरेका हुन् । सञ्चालकहरु मध्येका न्यौपाने अहिले धनकुटावाट बसाई सरेर तराई झरिसकेका छन् । वाँकी धनकुटामै छन् । उनीहरुले केही व्यक्तिलाई त्यहाँको रेखदेख गर्न छोडेका छन् । सोही स्थानवाट मिनिरल वाटर पनि उत्पादनको तयारी भइरहेकाले त्यहाँ रहेका व्यक्तिहरु सोही काममा केन्द्रित छन् ।

बोटिङ्ग, स्वीमिङ्ग र फिसिङ्गका लागि भन्दै बनाइएको त्यो पोखरी अहिले उद्धेश्य अनरुप प्रयोगमा छैन । बोट बिग्रिएपछि पोखरीबाट निकालेर पाखामा राखिएको छ । यसअघि त्यो पोखरीमा प्रतिव्यक्ति ५० रुपैयाँ लिएर बोटिङ्ग र स्वीमिङ्ग गराउँने गरिएको थियो । त्यो बेला पौडी खेल्नेहरुलाई ‘लाइफ ज्याकेट’ पनि दिने गरिन्थ्यो । तर, बोट बिग्रिएपछि गत जेठ १ गतेवाट बोटिङ्ग बन्द गरिएको पार्कका मेनेजर पवन भण्डारी बताउँछन् । उनका अनुसार त्यहाँ ‘फिसिङ्ग’ पनि गराउँने योजना रहेकाले पोखरीमा माछा हालिएको थियो । बोट बिग्रिएर बोटिङ्ग बन्द गरिएपछि त्यहाँ मान्छेहरु विना शुल्क तथा विना सुरक्षा सावधानी पौडी खेल्ने गरेका छन् ।

जसका कारण यसअघि पनि सोही पोखरीमा एक जना व्यक्ति डुबेका थिए । तर, तत्काल उद्धार गर्न सफल भएकाले उनको ज्यान जोगियो । पार्कमै कार्यरत एक कर्मचारीका अनुसार गेटमा सुरक्षा गार्ड पनि राखिएको छैन । पोखरी वा पार्क वरीपरी घेरावारा पनि लगाइएको छैन । जुनसुकै बेला जोसुकै व्यक्ति पनि पोखरीमा सजिलै पुग्न सक्छ । जसका कारण वालवालिकाहरु पनि गएर पोखरीमा पस्ने गरेका थिए । शनिवार पनि बालकहरु मात्र पोखरीमा पसेका बेला घटना भएको हो ।

पार्क सञ्चालकको हेलचेक्राईले घटना भएको भन्दै पीडित पक्ष शनिवार नै उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेको थियो । तर, छलफलवाट समाधान खोज्न भन्दै उजुरी दर्ता गर्न रोकिएको छ । मृतक उदयका नातेदार सान्त राईले पोखरीमा पानी जमाएर विना रेखदेख धराप धापेर राखिएकाले बालकहरूले ज्यान गुमाएको भन्दै आक्रोश पोख । ‘कि पोखरी बनाउँनुनै भएन, बनाइसकेपछि त्यहाँ केटाकेटीहरुलाई जान दिनु हुदैन थियो, पैसा कमाउँन पोखरी बनाउँन सक्नेले त्यसको रेखदेखको व्यवस्था त मिलाउँनु पर्यो नि,’ उनले भने । यता, स्वर्णिमकी आफन्त एन्जिला याखाले सञ्चालकको हेलचेक्राइले मान्छेको ज्यान गएको भन्दै दोषीलाई कारबाहीको माग गरिन् ।

यता, पार्क सञ्चालक घनेन्द्र न्यौपानेले पार्कमा सुरक्षागार्ड नराख्नु र घेरावारा नलगाइनु कमजोरी भएको स्वीकार गरे । ‘पार्कमा अपडेटेड सेक्युरेटी गार्ड नराख्नु र घेरावारा नहुँनु त कमजोरी नै भयो । तर, निर्माणाधिन अवस्था भएकाले यस्तो भएको हो,’ उनले भने ।

यसअघि प्रकाशित…

पोखरीमा डुबेर दुई बालकको मृत्यु

 

पोखरीमा डुबेर दुई बालक घाइते

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!