- रबिन कटेल/संगालोखबर

विराटनगर । विराटनगर विमानस्थल पीडितले उठाएको माग सम्बोधनका लागि सरकारले वेवास्ता गरेको छ । सरकारले रोक्का गरेको आफ्नो जग्गाको मुआब्जाका लागि १४ महिनासम्म कुरेका स्थानीयवासीले मुआब्जा नभए जग्गा फुकुवाको माग अघि सारेका छन् ।

Advertisement

विराटनगर विमानस्थललाई क्षेत्रीय स्तरको बनाउँन अधिग्रहणका लागि सरकारले आसपास क्षेत्रको १२६ दशमलव ४६ बिगा जग्गा रोक्का गरेको छ । ३५० परिवारको १४०० कित्ता जग्गा रोक्का छ । जसका कारण उनीहरूले आफ्नै जग्गा पनि पूर्ण उपयोग गर्न पाएका छैनन् । किनबेच, अंशबन्डा, बैंकमा धितो राख्न, धितोपास, नामसारी, घर निर्माण लगायत काम रोकिएको छ ।

सरकारले लामो समयसम्म पनि मुआब्जा नदिएर त्यसै अल्झाएपछि विमानस्थल पीडितहरु अहिले आन्दोलित छन् । उनीहरूले गत जेठ ३० गते विराटनगरमा प्रदर्शन गर्दै प्रदेश १ को मुख्यमन्त्री कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएर माग सम्बोधनका लागि एक हप्ताको अल्टिमेटम दिएका थिए । उनीहरूले माग सम्बोधन नभए सडक आन्दोलन गर्ने चेतावनीसमेत दिएका थिए । अल्टिमेटमको म्याद आइतबार पुरा भयो । तर, सरकारले उनीहरूको माग सुनवाई त परको कुरा कुनै प्रतिक्रियासम्म पनि जनाएको छैन ।

विमानस्थल पीडितहरूको मागका बारेमा केन्द्रमा पटकपटक जानकारी गराइएको भएपनि माग सुनुवाइका लागि केन्द्रबाट केही प्रतिक्रिया नआएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बताउँछन् । उनी भन्छन्, ‘विमानस्थल पीडितले राखेको मागपत्र हामीले गृह मन्त्रालयमा पठाएर कि मुआब्जा नभए जग्गा फुकुवाका लागि आग्रह गर्यौं, मैले नागरिक उड्यानको प्रमुखसँग पनि यो विषयमा कुराकानी गरेको थिए, तर अहिलेसम्म केही सुनवाई भएको छैन ।’

यसअघि जेठ २५ गते मुआब्जा निर्धारण समितिको बैठक बसेको थियो । सो बैठकले पनि जग्गा अधिग्रहणका लागि मुआब्जाको व्यवस्था मिलाइदिन नभए रोक्का जग्गा फुकुवा गर्ने वातावरण मिलाउँन सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । सोही बमोजिम विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयले नेपाल नागरिक उड्डयन केन्द्रिय कार्यालयमा पत्र पठाएको भएपनि त्यसको केही जवाफ प्राप्त नभएको विराटनगर विमानस्थलका सूचना अधिकारी युवराज भण्डारीले बताए ।

सरकारले माग सम्बोधनमा वेवास्ता गरेपछि विमानस्थल पीडितहरू अब सडक आन्दोलनमा उत्रने भएका छन् । आन्दोलनका कार्यक्रम तय गर्न विराटनगर विमानस्थल पीडित संघर्ष समितिको बैठक सोमबारका लागि डाकिएको छ । सोमबारको बैठकबाट कस्तो आन्दोलन गर्ने भन्ने निष्कर्षमा पुगेर मङ्गलवारबाट सडक आन्दोलन थालिने संघर्ष समितिका संयोजक वेदराज पौडेलले बताए । ‘सरकारले हाम्रो मागलाई वेवास्ता गरेकाले हामी अब सडक आन्दोलनमा उत्रन्छौं, संघर्ष समितिको बैठकले आन्दोलनको कार्यक्रम तय गर्नेछ,’ संयोजक पौडेलले भने, ‘माग पुरा नभएसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!