- रबिन कटेल/संगालोखबर

विराटनगर । मूलुकको महत्वपूर्ण औद्योगिक क्षेत्र मानिने मोरङका उद्योगी व्यवसायीहरु सरकारको भूमिका प्रति सन्तुष्ट छैनन् । सरकारले औद्योगिक क्षेत्रको विकास गर्न सहज वातावरण नबनाएको, साना र ठूला उद्योगबीच नै विभेद गरेको, नीतिगत संकट पारेर उद्योगीलाई पेल्ने गरेको र स्वदेशी उत्पादन बृद्धिमा निरुत्साहित बनाएको उनीहरुको गुनासो छ ।

जुनसुकै सरकार आएपनि उद्योगी व्यवसायीका माग सुनुवाइमा गम्भीर नबनेको प्रति उनीहरुको आक्रोश पनि छ । प्रधानमन्त्री, मन्त्री वा सरकारका जिम्मेवार पदाधिकारी भेट्दा उनीहरु गुनासो मात्र गर्दैनन् आक्रोश पनि पोख्छन् । उद्योग संगठन मोरङको ४९ औं वार्षिक साधारण सभामा आएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसमक्ष पनि उद्योगी व्यवसायीहरुले गुनासो र माग मात्रै राखेनन् सरकारप्रतिको आक्रोश पनि पोखे ।

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले केही सीमित उद्योगीको प्रभावमा परेर सरकारले उनीहरुको अनुकुलतामा औद्योगिक क्षेत्रको नीति निर्माण गर्दा समग्र औद्योगिक क्षेत्र प्रभावित बन्ने गरेको गुनासो गरे । जसका कारण केहीलाई फाइदा पुगेपनि धेरै उद्योगी व्यवसायी मारमा परेको उनको ठम्याई छ । ‘सरकार त सबैको हो नि, हैन र मन्त्रीज्यू ?,’ कार्यक्रममा मन्त्री बडूलाई प्रश्न गर्दै अध्यक्ष प्याकुरेलले भने, ‘केहीको हितमा काम गर्ने, कसैलाई वेवास्ता गर्ने, यसो त गर्नु भएन नी ।’

कार्यक्रम उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बडू। तस्वीर: रबिन कटेल/संगालोखबर

कच्चा पदार्थ ल्याएर वायर र स्टिल यहाँ उत्पादन गर्नु भन्दा विदेशबाट आयात गर्दा सस्तो पर्ने उदाहरण दिदैं उनले सरकारले स्वदेशी उत्पादन बढाउँन सहज वातावरण निर्माण गर्नुपर्ने माग पटक–पटक दोहोर्याए । भन्सार दरका कारण स्यानेटरी प्याड, घ्यू तेल तथा वायर र स्टिल उद्योग बढी प्रभावित भएको भन्दै उनले यसलाई पुर्नविचार गर्न सरकारसँग माग गरे । वित्तिय तरलता अभाव तथा ब्याज बृद्धि, युक्रेन–रुस युद्धका कारण भएको डलर, पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ लगायतको अस्वभाविक मूल्यबृद्धि, उर्जा अभाव जस्ता कारणले औद्योगिक क्षेत्र अस्तव्यस्त भएको उनले गुनासो गरे ।

आगामी आर्थिक बर्षको बजेटमा पनि सरकारले पूर्वलाई विभेद गरेको अध्यक्ष प्याकुरेलले बताए । मन्त्री बडूलाई व्याङ्ग्य गर्दै उनले भने, ‘मन्त्रीज्यूहरु यता को नभएर हो कि किन हो बजेट कोशी वारी नै आइपुगेन ।’ उनले विराटनगर–वथनाह रेलमार्ग निर्माण, विराटनगर विमानस्थल स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माण र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण गर्न सरकारसँग माग गरे ।

भीम घिमिरे । तस्वीर : संगालोखबर

नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले बजेटमा सरकारले नीतिगत भ्रष्ट्राचारका लागि छिद्रहरु राखेको भन्दै आक्रोश व्यक्त गरे । ‘सरकारका कारण अहिले निजी क्षेत्र समस्यामा छ, डिप्रेशनमा छ,’ आक्रोश व्यक्त गर्दै घिमिरेले भने, ‘नेता र नेतृत्वले नीतिगत भ्रष्टाचार गरुन भनेर जनताले लोकतन्त्र र गणतन्त्र ल्याएका हैनन् । नेतृत्वले बिचार पुर्र्याओस् ।’

औद्योगिक क्षेत्रलाई समस्यामा पार्न विद्युत प्राधिकरणले कृतिम विद्युत अभाव गराउँने गरेको उनको आरोप छ । ‘केही महिना अघि विद्युत अनियमित भयो, हामीले प्रदेशभरका प्राधिकरणमा तालाबन्दी गर्ने र उद्योगहरु ठप्प पार्ने चेतावनी दिएपछि लगत्तै विद्युत नियमित आउँन थाल्यो,’ आशंका र प्रश्न गर्दै घिमिरेले भने, ‘पहिले उद्योगमा दिन नपुगेको विद्युत हामीले चेतावनी दिएपछि कहाँबाट आउँन थाल्यो, कहाँ लुकेको थियो, कहाँ लुकाइएको थियो विद्युत ?’

नेतालाई पैसा खुवाएर केही व्यवसायीले आफू अनकुल नीति बनाउँने गरेको उनले आरोप लगाए । सरकारले बैंक र बीमा कम्पनीलाई संरक्षण गरेर उद्योगलाई एकोहोरो पेल्ने गरेको उनको बुझाई छ । भन्सारमा हुने चोरी पैठारी नियन्त्रणमा सघाउँनुको सट्टा त्यहाँ समातिएका गाडीहरु छोडाउँन नेताहरुले पावर लगाउँने गरेको भन्दै उनले नेताहरुकै कारण भन्सारमा ‘इलिगल बिजनेस’ मौलाएको आरोप लगाए । सरकारले निजी क्षेत्रलाई संरक्षण गर्ने हो भने लगानीकर्ताको कमी नरहेको भन्दै उनले लगानीमैत्री वातावरण मिलाउँन सरकारसँग माग गरे ।

नविन रिजाल । तस्वीर: संगालोखबर

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले देशका एक/दुई जना उद्योगीलाई मात्र मालिक बनाउँने हिसावले सरकार अघि बढ्दा समग्र औद्योगिक क्षेत्रको विकास हुन नसकेको बताए । ‘कसैलाई अन्तशुल्कमा पनि छुट, विद्युत महसुलमा पनि छुट छ, यता कसैले पटक–पटक माग राख्दा पनि केही सुनुवाई हुँदैन, अनि कसरी समग्र औद्योगिक क्षेत्रको विकास हुन्छ ?’ उनले प्रश्न गरे ।

नेपालको औद्योगिक नीतिको कुनै भर नहुँदा उद्योगी व्यवसायीहरु समस्यामा पर्ने गरेको गुनासो पनि उनले गरे । विराटनगरको रिङरोड निर्माण गर्नुपर्ने, जोगवनी–किमाथांका सडकको काम पुरा गर्नुपर्ने, आद्योगिक क्षेत्र बनाउँनुपर्ने, प्रदर्शनी केन्द्र बनाउँनुपर्ने लगायत माग पटक–पटक राखेपनि पुरा नभएको उनको गुनासो छ । ‘नेता, मन्त्रीहरु आउँदा बर्षौं अघिदेखि हामी यहाँका माग राखिरहेका छौं,’ रिजाल भन्छन्, ‘यहाँ हुन्जेल सुन्नुहुन्छ, विराटनगर एयरपोर्टबाट प्लेन चढेपछि बिर्सनुहुन्छ, हाम्रो माग कहिल्यैं सुनुवाई भएन ।’

किसोर प्रधान । तस्वीर: संगालोखबर

उद्योग संगठनका पूर्व अध्यक्ष किसोर प्रधानले उद्योगी व्यवसायीको हित चाहने सरकार कहिल्यैं नआएको भन्दै आक्रोश व्यक्त गरे । ‘उद्योग मन्त्रालयमा महिनौंसम्म मन्त्री पद रिक्त हुन्छ, सरकारले उद्योग मन्त्रालयलाई नै वेवास्ता गर्छ, अनि यस्तो सरकारसँग उद्योगी व्यवसायीले अपेक्षा गर्नु बेकार छ,’ प्रधानले भने ।

उनले देशमा प्रधानमन्त्री र मन्त्रीहरुले देश चलाएको नभई केही पूँजीपतिको इसारामा देश चलिरहेको टिप्पणी परे । मन्त्री बडूलाई लक्षित गर्दै प्रधानले भने, ‘यहाँ तपाईहरुले देश चलाउँनु भएको छैन, केही पूँजीपतिले देश चलाइरहेका छन् । उनीहरुले जे चायो त्यही भइरहेको छ ।’

यो पनि हेर्नुहोस्…

निर्यात बढाउँन निजी क्षेत्रलाई सहयोग गछौँ : मन्त्री बडू

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!