रबिन कटेल/संगालोखबर

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले निर्यात बढाएर मुलुकलाई समृद्धिको बाटोमा अघि बढाउँन सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने बताएका छन् । विराटनगरमा शनिवार आयोजित उद्योग संगठन मोरङको ४९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री बडूले स्वदेशी उत्पादनको निर्यात बढाउँन सरकार निजी क्षेत्रसँग हातेमालो गर्न तयार रहेको बताएका हुन् ।

Advertisement

मुलुकलाई आत्मनिर्भर एवं समृद्ध बनाउँन उत्पादन र रोजगारी बढाउनुको विकल्प नरहेको भन्दै मन्त्री बडूले त्यही कुरामा सरकारको ध्यान केन्द्रित भएको उल्लेख गरे । निर्यात जन्य उत्पादन बढाउनुपर्नेमा जोड दिदै उनले त्यसका लागि उद्योग र उद्यमीलाई प्रोत्साहन गरिने बताए । ‘मुलुकलाई समृद्ध बनाउँन निजी क्षेत्रको महत्वपूर्ण भूमिका हुन्छ, निजी क्षेत्रलाई प्रोत्साहन गरेर उत्पादन र रोजगारी बढाउनुको विकल्प छैन,’ मन्त्री बडूले भने, ‘निजी क्षेत्रलाई अघि बढाउँन सरकारले आर्थिक निती, मौद्रिक निती कहाँकहाँ केके परिवर्तन गर्नुपर्छ त्यसका लागि सरकार तयार छ ।’

सरकारले राष्ट्रिय उत्पादन बढाउँने लक्ष्य लिएको भन्दै मन्त्री बडूले त्यसका लागि निजी क्षेत्रले सहयोग पुर्याएमा मुलुक उदाहरणीय बन्न सक्ने दावी गरे । उद्योग संगठन मोरङले सञ्चालन गरेको ‘मेरो देश मेरै उत्पादन’ अभियानको प्रशंसा गर्दै उनले उत्पादन बढाउँन सबै यसरी नै जाग्नुपर्ने आवश्यकता औल्याए । निर्यात बढाउँन सरकारले यसअघि निजी क्षेत्रलाई जति सहयोग गर्नुपर्ने त्यति नसकेको उनले स्वीकार पनि गरे । उत्पादन वृद्धि गराउँन सहयोगका लागि उद्योग, कृषि, वाणिज्य तथा आपूर्ति, अर्थ लगायत धेरै मन्त्रालयको सवाल र सरोकार हुने भन्दै उनले त्यसका लागि सबै मन्त्रालयबीचमा समन्वयको खाँचो औल्याए ।

बन्द रहेका सरकारी उद्योगहरू सञ्चालनका लागि सरकारले तयारी गरिरहेको उनले बताए । कतिपय उद्योग निजी क्षेत्रलाई ‘लिज’ मा दिएर भएपनि सञ्चालन गर्ने तयारी भइरहेको उनले जानकारी दिए । राष्ट्रिय उत्पादन बढाउँनका लागि उद्योगहरू सञ्चालन गर्नु अपरिहार्य रहेको भन्दै उनले त्यस्ता उद्योग सञ्चालनका लागि तयार हुन निजी क्षेत्रलाई आग्रह पनि गरे ।

कार्यक्रममा प्रदेश १ का उद्योग, श्रम तथा रोजगार मन्त्री प्रताप प्रकाश हाङगामले प्रदेश सरकारले उद्योगी व्यवसायीलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले आफ्नो तर्फबाट गर्न सक्ने सहयोगका लागि कुनै कसर वाँकी नराख्ने उल्लेख गरे । विराटनगर महानगरपालिकाकी उपमेयर सिल्पा निराला कार्कीले उद्योगी व्यवसायीहरूसँग हातेमालो गर्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी अघि बढ्ने बताइन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उद्योग समिति सभापति भरतराज आचार्यले विराटनगर जुट मिलकै इतिहासबाट उद्योग दिवस मनाउँने गरिएको भन्दै यो क्षेत्रले औद्योगिक क्षेत्रको विकासमा पुर्याएको भूमिकाको प्रशंसा गरे ।

सरकारप्रति उद्योगी, व्यावसायीको आक्रोश

कार्यक्रममा बोल्ने अधिकांस उद्योगी व्यावसायीले सरकार प्रति आक्रोस पोखे । उद्योग संगठनका पूर्व अध्यक्ष किसोर प्रधानले उद्योगी व्यावसायीको हित चाहने सरकार कहिल्यौं नआएको भन्दै आक्रोश व्यक्त गरे ।

नेपाल उद्योग परिसंघका प्रदेश अध्यक्ष भीम घिमिरेले बजेटमा सरकारले नितीगत भ्रष्ट्राचारका लागि छिद्रहरु राखेको आरोप लगाए । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले केही उद्योगी व्यावसायीलाई मात्र सहयोग पुर्याउँने र अरुलाई वेवास्ता गर्ने हिसावले सरकार अघि बढेको भन्दै असन्तुष्टि जनाए ।

कार्यक्रममा उद्योग संगठनका अध्यक्ष सुयश प्याकुरेलले औद्योगिक क्षेत्रका विद्यमान चुनौतिका विषयमा प्रस्तुती राखेका थिए । उनले सरकारको नितीका कारण उद्योगी व्यावसायी समस्यामा परेको भन्दै त्यसलाई सुधार गरेर सहयोग गर्न उद्योग मन्त्री बडूलाई आग्रह गरे ।

कार्यक्रममा पूर्व वाणिज्य सचिव पुरुषोत्तम ओझा र कांग्रेस जिल्ला सभापति डिगबहादुर लिम्बुले पनि मन्तब्यमार्फत साधारण सभा सफलताको शुभकामना दिएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!