
ऊ सडक छेउ लर्खराईरहेछ
वाच्नको लागि
गुहार मागिरहेछ
सास धान्न सकिनसकि
घिस्रिरहेछ
बटुवाको हुल
उसलाई नियाल्छन्
सहानुभुतिका भावमा सुम्सुम्याउ“छन्
सहयोग मापनका यन्त्र झिक्छन्
उसको नाकको लम्बाइ नापिन्छ
मुखामुख गर्दै
कोहि नाक लामो भयो भन्दै थिए
कोहि छोटो भन्दै थिए
सेन्टीमिटरमा नाकको साइज नमिलेपछि
ओठ लेप्र्याउदै बाटो लागे बटुवाहरु
भन्दैथिए, नाकको आकार मिलेन रे
त्यसैले सहयोग गर्नै मिल्दैन रे
अर्को हुल फेरी उसको नजिक पुग्यो
अन्तर्वार्ता लिए
कापेका स्वरमा फगत बा“च्ने भीक माग्दै थियो
अन्तर्वाताकारहरुबिच
छलफल भयो,
निचोड, जात मिलेन रे
सहयोग गर्नै मिल्दैन रे
ओठ लेप्र्याउँदै
त्यो हुल पनि बाटो लाग्यो ।
लम्पसार परेको ऊ
कलेटी परेको ओठले
भोकको संकेत गरिरहेथ्यो
फेरी अर्को हुलले
उसलाई कोट्याउँदै सोधे
उसले वाच्ने याचना गह्यो
त्यो हुलले पनि
ओठ लेप्र्यायो
उसको वर्ग मिलेन रे
सहयोग गर्न मिल्दैन रे
हुल बाटो लाग्यो ।
हुलका हुल आइरहे
ओठ लेप्र्याउँदै बाटो लागिरहे
रित्तो हात ऊ सडकमै ढलिरह्यो
हुलहरुको निश्कर्ष
वर्ग मिलेन रे,
रङ्ग मिलेन रे
लिङ्ग मिलेन रे
संस्कार मिलेन रे
विचार मिलेन रे
र, भुगोल मिलेन रे
यतिञ्जेलसम्म
उस्को निष्प्राण शरिर भन्दै थियो
अब, वाच्नै मिल्दैन रे….