
तिम्रो बाटो तिमी रोज, म आफ्नै बाटो रोजूँला,
तिम्रो आकाश तिमी खोज, म आफ्नै आकाश खोजूँला
तिम्रो संसार फुलोस् सधैँ, रङ्गले भरिपूर्ण होस्,
मेरो भाग्य जहाँ लेखिए, त्यहीँ नयाँ बिहान होस्
तिमी आफ्नै दीप बाल, म आफ्नै दीप बालूँला,
तिमी हाँसी जीवन काट, म पनि हाँसी बाँचूँला
तिम्रो खुसी तिम्रै रहोस्, मेरो खुसी मेरै होस्,
हाम्रो छुट्टै बाटो भए पनि, मनमा शुभकामना होस्
माया केवल साथ होइन, टाढा हुँदा पनि रहन्छ,
साँचो मनले दिएको कुरा, समयसँगै कहाँ मर्छ ?
तिमी सम्झी कहिले रोऊ, आँसु आफैँ पुछिदिनू,
मलाई सम्झी कहिले हाँस, मनभित्रै राखिदिनू ।
बितेका ती दिनहरूलाई, दोष दिएर के पाइन्छ ?
टुटेको त्यो सम्बन्धलाई, फेरि जोडेर के हुन्छ ?
जति बाँकी जीवन छ हाम्रो, सुन्दर पार्दै जाउँला,
तिमी तिम्रो दुनियाँ रोज, म आफ्नै दुनियाँ बनाउँला
तिमी उता उज्यालो खोज, म यता उज्यालो खोजूँला,
तिमी नयाँ सपना देख, म नयाँ सपना कोरूँला
हिजो हाम्रो कथा थियो, आज छुट्टाछुट्टै यात्रा हो,
तर मनले दिने शुभेच्छा, अन्तिमसम्म उस्तै हो
तिमी हाँस, म पनि हाँसूँ, तिमी बाँच, म पनि बाँचूँ
तिमी आफ्नो रङ्गमा रम, म आफ्नै रङ्गमा रमूँ
बाटो फरक भए पनि, मनमा माया बाँकी होस्,
तिम्रो जीवन फूलिरहोस्, मेरो जीवन पनि होस्
निश्चल पोख्रेल
लालीगुँरास नगरपालिका-९, तेह्रथुम (हाल इटहरी)
















