
विराटनगर । विराटनगरको एभरेष्ट माध्यामिक विद्यालयले भानु जयन्तीको अवसरमा कविता वाचन प्रतियोगितासँगै स्रष्टालाई सम्मान गरेको छ । विद्यालयको सभाहलमा आज आयोजित कार्यक्रममा कक्षा ११ र १२ का २४ प्रतियोगीले विभिन्न शीर्षकमा कविता वाचन गरेका थिए ।
तीमध्ये उत्कृष्ट चारलाई नगदसहित ट्रफी प्रदान गरिएको छ । ‘भानु हेर तिम्रो देश’ शीर्षकको कविता वाचन गर्ने कक्षा १२ की छात्रा सौमिका ढकालले प्रथम हुँदै नगद १० हजार पुरस्कार पाइन् ।
यस्तै कक्षा १२ का प्रेम खतिवडा ‘फर्कि आउ घर’ शीर्षकको कविता वाचन गर्दै द्वित्तीय भए । उनले नगद ७ हजार रुपैयाँ पुरस्कार पाए । ‘प्रकृतिको मौन पुकार’ शीर्षकको कविता वाचन गरेका कक्षा ११ का आर्जन बराल तृतीय भए । उनले नगद ५ हजार पुरस्कार पाए ।
यस्तै कक्षा १२ का रियोज मास्केले ‘मुकुन्डो र मुकुट’ शीर्षकको कविता वाचन गर्दै सान्त्वना पुरस्कार पाए । उनले नगद ३ हजार रुपैयाँ प्रदान गरिएको छ । प्रतियोगितामा साहित्यकार निर्मला कोइराला र कवि मीनकुमार नवोदित निर्णायक रहेका थिए ।
कार्यक्रमका अवसरमा साहित्यकार तथा कवि रोहिणी रसिकलाई सम्मान गरिएको थियो । उनलाई कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा राष्ट्रियसभाका पूर्वसदस्य खेम नेपाली र विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले दोसल्ला, सम्मानपत्र र नगद १५ हजार ५ रुपैयाँले सम्मान गरे ।
विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले समयक्रमसँगै पुस्तान्तरण र हस्तान्तरण हुनु प्रकृतिको नियम रहेको बताए । उनले पुस्तान्तरण र हस्तान्तरणको नाममा इतिहास र अग्रजको अवमूल्यन भने गर्न नहुने उल्लेख गरे ।
नयाँका नाममा विगतका इतिहास मास्न थालियो भने त्यसले अस्तित्व नै धरापमा पर्ने र अग्रजहरूप्रति अपमान हुने उनको भनाइ छ । कविता वाचन प्रतियोगिता र स्रष्टालाई सम्मान गर्नु पनि भानुभक्तले नेपाली साहित्यमा पुर्याएको योगदानको स्मरण गर्नगराउनका लागि रहेको उनले बताए ।

संगालोखबर 



















