- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा मंगलबार अपरान्ह प्रहरीले नेकपा एमाले निकट राष्ट्रिय युवा संघका जिल्ला सदस्य निरन साङसोन राईमाथि निर्घात कुटपिट गरेको छ । सहिदभूमि–६ माङतिनका ३३ बर्षीय राईमाथि कुटपिट गरिएको हो ।

Advertisement

कुटपिटबाट घाइते राईको जिल्ला अस्पताल धनकुटामा उपचार हुँन नसकेपछि थप उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको छ । अर्धचेत अवस्थामा रहेका राईको टाउको, हात र खुट्टामा चोट छ ।

अपरान्ह करिब ४ बजे सुकेआहालस्थित भुपाल राईको घरमा बसिरहेका बेला दुई वटा मोटरसाइकलमा पुगेका चार जना प्रहरीले ‘यसलाई ठोक’ भन्दै लखेट्दै कुटपिट गरेको स्थानीयबासी बताउँछन् ।

स्थानीय दिक्षा राईका अनुसार प्रहरीहरुले सल्लाको दाउरा र बुटले निरनमाथि निर्मम प्रहार गरेका हुन् । निरनलाई कुट्ने क्रममा दाउरासमेत भाचिएको उनले बताइन् । आँखिसल्ला प्रहरी चौकीबाट गएको प्रहरी टोलीले उनीमाथि कुटपिट गरेको बताइएको छ ।

यता, जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले यो बिषयमा यथार्थ बुझ्ने काम भइरहेको प्रतिक्रिया दिए । ‘त्यहाँ पुग्ने प्रहरीले हामीले कुटपिट गरेको छैन भनेका छन्,’ एसपी अधिकारीले भने, ‘घटनाको यथार्थ के हो बुझ्दैछौं ।’

के हो घटना ?

सहिदभूमि गाउँपालिका अध्यक्ष मनोज राईका अनुसार गत आइतवार एमालेको बिजय जुलुशमा सहभागि एमाले कार्यकर्ता ऐजन राईसहितका युवाहरुमाथि कांग्रेस निकट केही युवाहरुले कुटपिट गरेका थिए । घटनापछि एमाले निकट युवाहरुले कांग्रेस निकट युवाहरुमाथि पनि कुटपिट गरे ।

कुटपिटबाट घाइते पक्षले एमाले निकट स्थानीय १३ जना युवाहरुविरुद्ध प्रहरीमा उजुरी दिए । उजुरी पर्ने मध्ये निरन पनि एक हुन् । सोही कारण प्रहरी उनलाई पक्राउ गर्न गएको थियो । पक्राउ गर्ने क्रममा निरनमाथि प्रहरीले निर्घात कुटपिट गरेको गाउँपालिका अध्यक्ष राई बताउँछन् ।

भिडियो…

यो पनि हेर्नुहोस्…

सहिदभूमि घटनाको यथार्थ पत्ता लगाउँन प्रहरीले बनायो छानविन समिति

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!