संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकामा प्रहरीले राष्ट्रिय युवा संघका जिल्ला सदस्य निरन साङसोन राईमाथि निर्घात कुटपिट गरेको भनिएको घटनाको यथार्थ पत्ता लगाउँन जिल्ला प्रहरी कार्यालय धनकुटाले छानविन समिति बनाएको छ । घटनाको छानविन गरी सत्य, तथ्य पत्ता लगाउँन जिल्ला प्रहरी कार्यालयका डीएसपी चिरञ्जीवी दाहालको संयोजकत्वमा आन्तरिक छानविन समिति गठन गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

Advertisement

मंगलबार अपरान्ह करिब ४ बजे सहिदभूमि–६ माङतिनका ३३ बर्षीय राईलाई सुकेआहालमा प्रहरीले निर्घात कुटपिट गरेको स्थानीयको आरोप छ । तर, प्रहरीले भने कुटपिट नगरिएको दावी गर्दै आएको छ । गाउँमा स्थानीय युवाहरुबीच भएको कुटपिटको घटनापछि स्थानीय १३ जना युवाहरुविरुद्ध प्रहरीमा उजुरी परेको छ । सो उजुरीमा निरनको पनि नाम छ । सोही कारण उनलाई पक्राउ गर्न प्रहरी पुगेको थियो । पक्राउ गर्ने क्रममा आफुमाथि प्रहरीले कुटपिट गरेको निरन बताउँछन् । स्थानीयबासी र जनप्रतिनिधिहरु पनि प्रहरीले निरनमाथि निर्घात कुटपिट गरेको बताइरहेका छन् । तर, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अधिकारीले भने प्रहरीले कुटपिट गरेको नभई भाग्ने क्रममा लडेर निरनको शरीरमा चोटपटक लागेको दावी गर्छन् ।

निरनको टाउको, हात र खुट्टामा चोट छ । अर्धचेत अवस्थामा उनलाई मंगलबार राती धनकुटा जिल्ला अस्पताल ल्याइएको थियो । त्यहाँबाट थप उपचारका लागि राती नै विराटनगरस्थित न्यूरो अस्पताल लगियो । अहिले उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । घटनाको बिषयमा प्रहरी र स्थानीयको कुरा बाझिएपछि यथार्थ पत्ता लगाउँन भन्दै जिल्ला प्रहरी कार्यालयले आन्तरिक छानविन समिति बनाएको हो । सो समितिले बुधबार घटनास्थल पुगेर अनुसन्धान थालेको छ ।

यता, धनकुटाका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले घटनामा दोषी देखिएमा प्रहरीलाई कारबाही गर्ने बताएका छन् । तर, कुटपिट नभई लडेर निरन घाइते भएको प्रारम्भिक रिपोर्ट आफुलाई प्राप्त भएको उनले बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!