
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका-१ मध्यहर्षाहीको बीपी चोकस्थित लक्ष्मीनारायण मन्दिर अगाडि शनिबार साँझ भएको घटना पुरानो विवादका कारण भएको खुलेको छ ।
युवतीको विषयलाई लिएर भएको पुरानो विवाद गोली प्रहारसम्म पुगेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । उक्त घटनामा स्थानीय २४ वर्षीय निरजकुमार यादव घाइते भएका छन् । घाइते यादवको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
‘घाइते यादवको शल्यक्रिया गरेर आज बिहान गोली निकालिएको छ’, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता योगेन्द्र सिंह थापाले संगालोखबरसँग भने, ‘सुनसरी प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।’
प्रहरीका अनुसार यादवको शरीरको पछाडि कम्मरमुनिको दायाँ भागमा गोली लागेको छ । घटनामा संलग्न रहेको आरोपमा देवानगन्ज गाउँपालिका-२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय लाली भनिने जयकृष्ण यादव पक्राउ परेका छन् ।
सुनसरीका प्रहरी प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार घटनामा ३/४ जनासम्मको संलग्नता रहेको हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेका दुई जनामाथि अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी तीव्र पारिएको डीएसपी खड्काले जानकारी दिए ।
प्रहरीका अनुसार निरज आफ्ना छिमेकी विवेककुमार यादवसँग मोटरसाइकलमा हरिनगर बजारबाट घर फर्किरहेका बेला लक्ष्मीनारायण मन्दिरनजिक पुगेपछि गोली प्रहार भएको थियो । घटनाको कारण युवतीको विषयमा भएको विवाद रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
‘प्रारम्भिक अनुसन्धानमा युवतीको विषयलाई लिएर घटना भएको खुलेको छ । अन्य कारण पनि हुनसक्छ’, डीएसपी खड्काले संगालोखबरसँग भने, ‘कारण के हो भन्ने विषयमा अनुसन्धान भइरहेको छ । घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी तीव्र बनाएका छौँ ।’
प्रहरीका अनुसार यादवलाई गोली नै लागेको पुष्टि भइसकेको छ । तर प्रयोग भएको हतियार र गोलीको प्रकृतिबारे केही खुलेको छैन । ‘घटनामा प्रयोग भएको हतियार र गोलीको प्रकृति प्रयोगशालामा परीक्षण भएपछि मात्रै पत्ता लाग्छ’, उनले थपे, ‘अप्रेशनपछि घाइतेको शरीरबाट एउटा ‘बुलेट’ निकालिएको छ ।’
घटनाका मुख्य व्यक्तिहरू नै फरार रहेकाले प्रयोग भएको हतियार प्रहरीले बरामद गर्न सकेको छैन । घटनामा संलग्न मुख्य व्यक्तिहरू पक्राउ परेपछि थप कुरा खुल्ने डीएसपी खड्काले जानकारी दिए ।

संगालोखबर 

















