- संगालोखबर सम्बाददाता

धरान । हत्या गरी शरीर टुक्राएर झोलामा हालेर फालिएको अवस्थामा भेडेटार नजिक जंगलमा फेला परेको शवको पहिचान खुलेको छ । प्रहरीले मृतक झापाको दमक नगरपालिका–५ का ४३ बर्षीय दिनेश सिग्देल रहेको पत्ता लगाएको हो ।

Advertisement

शवको पहिचान खुलेपछि उनको हत्यामा संलग्नहरुलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार सिग्देललाई उनकै कान्छी श्रीमती ३० बर्षीया अनिता केसी र उनका प्रेमी २९ बर्षीय सरोज भण्डारीले मिलेर हत्या गरेकी हुन् । सिग्देलको हत्या आरोपमा दुवै जनालाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय धरानले आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

दिनेशले करिब १० बर्षअघि सुनसरीको बराहक्षेत्र–१० प्रकाशपुरकी अनितासँग दोस्रो विवाह गरेका थिए । अहिले उनीहरुकी ७ बर्षीया एक छोरी छिन् । त्यस्तै उनका प्रेमी सरोजको घर विराटनगर महानगरपालिका–४ इक्राही टोल हो । उनी सिटी सफारी चालक हुन् र विवाहित पनि हुन् ।

अनिताको सम्बन्ध सरोजसँग बढेको थाहा पाएपछि बहराइनमा रहेका दिनेश नेपाल आएका थिए । उनी कम्पनीमा १५ दिनको विदा लिएर पुष २० गते नेपाल आएका थिए । त्यसको भोलीपल्ट विराटनगर आएका उनी अनितासँगै होटलमा बसेका थिए भने २२ गते बेलुका उनीहरुको डेरा रहेको विराटनगर–३ पिपल चौक आएका थिए ।

पुष २२ गते राती दिनेश र अनिताबीच विवाद भएको थियो । दिनेश मादकपदार्थ सेवन गर्ने गर्दथे । उनी त्यसबेला पनि रक्सीको नशामा थिए । केही समयपछि सरोज पनि आएर दिनेशकै गलबन्धीले घाँटीमा कसेर हत्या गरेको प्रहरीको भनाई छ । हत्या गरेपछि त्यसराती लाशलाई नचलाई राखेर उनीहरु भने अन्यत्र बसेका थिए ।

पुष २३ गते उनीहरुले ग्रेण्डर मेशिन, जेब्रा झोला, पोलेथिन लगायत सामान ल्याएर खुकुरीले लाश काटेर अलग–अलग झोलामा हालेका थिए । त्यसपछि साँझमा टेम्पो भाडामा लिएर धरान भेडेटार सडकखण्डमा लाश फालेको र त्यसरात उनीहरु भेडेटार बसेर भोलीपल्ट मात्र विराटनगर फर्किएको प्रहरीले जनाएको छ ।

यो पनि…

भेडेटार नजिक जंगलमा झोलाभित्र भेटियो मान्छेको टाउको र खुट्टा

भेडेटार नजिक जंगलमा आज पनि भेटियो मान्छेको टाउको गिडिएको शरीर

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!