
विराटनगर । हुण्डी कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका-१३ की ज्योति शाही छिन् ।
गोप्य सूचनाका आधारमा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले शाहीलाई पक्राउ गरेको हो । उनले विभिन्न खाताहरूको प्रयोग गरेर १ अर्ब तीन करोड ८४ लाख ८४५ रुपैयाँ रकम कारोबार गरेको प्रहरीले जनाएको छ ।
अन्य व्यक्तिहरूसँगको मिलोमतोमा घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा २०६८ भदौ १६ मा दर्ता गराएको शाही मनी ट्रान्सफर समेतको नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक लगायत ५२ वटा बैंक तथा वित्तीय संस्थाहरूमा बैंक खाता खोलेर अवैध हुण्डी कारोबार गरेको आरोप उनीमाथि छ ।
विभिन्न असम्बन्धित व्यक्तिहरूले विदेशमा आर्जन गरेको रकम अनौपचारिक माध्यम मार्फत स्वदेशमा स-साना भाग बनाएर विद्युतीय डिजिटल माध्यमबाट असम्बन्धित व्यक्तिहरूको खातामा हुण्डीको माध्यमबाट कारोबार गरेको देखिएको प्रहरीको भनाइ छ ।
केन्द्रिय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार सुनसरी जिल्ला अदालतबाट हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसूरमा पक्राउ अनुमति लिएर बिहीबार अपराह्न पक्राउ गरिएको हो । उनलाई धरान-५ खैरेनीबाट पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 
















