- रबिन कटेल/संगालोखबर
अप्रेशन पश्चात चिकित्सकहरु ।

विराटनगर । दाँत माझ्ने क्रममा मुखबाट ब्रस छिरेपछि मोरङको मिक्लाजुङ्गका एक व्यक्तिको नोबेल शिक्षण अस्पतालमा पेट चिरेर ब्रस निकालिएको छ । मिक्लाजुङ्ग गाउँपालिका–४ टाँडीका ३५ बर्षीय गंगा मगरले दाँत माझ्ने क्रममा जिब्रो सफा गर्दै गर्दा मुखबाट ब्रस छिरेर पेटमा पुगेको हो ।

घटना गत बुधबारको हो । बिहान उनी दाँत माझ्दै धारामा गएका थिए । सोही क्रममा मुखको भित्रसम्म ब्रस छिराएर जिब्रो सफा गर्दै गर्दा छिप्लिएर ब्रस पेटभित्र पसेको हो । ‘दाँत माझ्ने क्रममा जिब्रो पनि सफा गर्नु पर्यो भनेर ब्रस अलिक भित्र छिराएर सफा गर्दै थिए । हात पनि र्यालले चिप्लो भएको थियो, एक्कासी चिप्लिएर ब्रस भित्र पस्यो,’ मगरले संगालोखबरसँग भने, ‘दुख्ने, पोल्ने त खासै भएन तर, त्यत्रै ब्रस नै पेटमा छिर्दा अब के हुन्छ भनेर तनाब भयो ।’

Advertisement
अप्रेशन गरेर ब्रस निकालिदै (वाँया) र निकालिएको ब्रस (दाँया)

उनले आत्तिदै घरमा आएर ब्रस पेटभित्र छिरेको सुनाए । तर, परिवार र छरछिमेकीलेसमेत सुरुमा उनको कुरा पत्याएनन् । ‘ब्रस निले भन्दै धाराबाट आउँनु भयो, सुरुमा त जिस्किएर भनेको होला जस्तो लाग्यो, पछि हो रहेछ भन्ने भएपछि सात्तै गयो, त्यत्रै ब्रस कसरी निल्नुभयो भनेर छक्क परे,’ उनकी श्रीमति पुनमले भनिन् ।

ब्रस पेटमा पसेपछि आत्तिएर मगर विराटनगरस्थित नोबेल अस्पताल पुगे । अस्पतालमा इन्डोस्कोपी गरेर हेर्दा ब्रस पेटभित्र देखियो । ब्रसलाई इण्डोस्कोपीबाटै तान्ने कोसिस गरिएको भएपनि ननिस्किएपछि पेट चिरेर १५ सेन्टिमिटरको ब्रस पेटबाट निकालेको नोबेलका शल्यचिकित्सक डा. अमित भट्टराईले बताए । नोबेलका चिकित्सक डा.भट्टराई नेतृत्वको चिकित्सकहरुको टोलीले बिहिबार शल्यक्रिया गरेर ब्रस निकालेको हो ।

अस्पतालमा उपचाररत मगर ।

ब्रस पेटमा छिर्दा पनि उनमा खासै समस्या देखिएको थिएन । ब्रस पेटबाट निकालिसकेपछि अहिले उनको अवस्था सामान्य छ । स्वास्थ्य अवस्था सामान्य भइसकेकाले अब उनलाई अस्पतालबाट डिस्चार्ज गर्ने तयारी गरिएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

भिडियो रिपोर्ट हेर्नुहोस्…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!