- संगालोखबर सम्वाददाता

विराटनगर । राजी मसला उद्योगका सञ्चालक सुमन प्रसाई नेतृत्वका युवाहरुले विराटनगर–१८ खोक्साहास्थित जनता आधारभूत विद्यालयका छात्रछात्रालाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण गरेका छन् । युवाहरुले विद्यालयका ३ सय ९६ छात्रछात्राहरुलाई कपी, पेन्सिल, खेलकुद सामाग्री तथा बस्ने म्याट लगायत वितरण गरेका हुन् ।

Advertisement

विकास र प्रगतिको मामिलामा पछि परेको सो विद्यालयको शैक्षिक गुणस्तर सुधार ल्याउने उद्देश्यले सामाग्री वितरण गरिएको युवाहरुले बताएका छन् । जीर्ण अवस्थामा रहेको सो विद्यालयको पठनपाठन प्रणालीलाई परिस्कृत गर्न तथा विद्यालयमा पठनपाठनकोे सहज वातावरण सिर्जना गर्ने लक्ष्यका साथ सामाग्री वितरण गरिएको युवा अभियन्ता सुमन प्रसाईले बताए ।

२०४९ सालमा स्थापना भएको सो विद्यालयमा बालकक्षादेखि कक्षा ८ सम्म पढाई हुँने गरेको छ । वडा नं. १८ को भेडियारी, दमादिघी, लालघाट, मटेरवा, खोक्साहा र डंग्राहा टोलका अधिकांश गरिब तथा विपन्न वर्गका बालबालिकाहरु पठनपाठनका लागि सोही विद्यालय पुग्ने गर्छन् । तर, उचित व्यवस्थापनको अभावमा पछिल्लो समय विद्यार्थीहरुको संख्या घट्दै गएको विद्यालयका प्रधानाध्यापक राजकुमार सरवरियाले बताए ।

विद्यालयका अधिकांश छात्राछात्राहरु कक्षा ९ र १० पढ्न अन्यत्रै जाने गर्छन् । विद्यालयमा आधारभूत तहसम्मको पठनपाठन मात्रै हुने गरेकाले विद्यालयका अधिकांश छात्रछात्राहरुले अन्य विद्यालय रोज्ने गरेका छन् । १ कठ्ठा ५ धुरमा रहेको सो विद्यालयमा कक्षा १० सम्मको पठनपाठनको व्यवस्था मिलाउन थप जग्गा र भौतिक संरचना आवश्यक रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष सम्भु कुमार यादवले बताए ।

अहिले विद्यालयमा २ पुरुष र ५ महिला गरि ७ शिक्षकको दरबन्दी छ । विद्यालयमा पर्याप्त भौतिक संरचना र शिक्षक दरबन्दीको पनि अभाव रहेको विद्यालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!