- गोमा ढुंगाना/संगालोखबर

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाकी एक युवतीले अस्वभाविक बच्चा जन्माएकी छन् । महालक्ष्मी–७ अर्खौलेकी १८ बर्षीया कोपिला श्रेष्ठले आन्द्राभुँडी बाहिरै भएकी छोरी जन्माएकी हुन् । जितपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउँन लगिएकी श्रेष्ठले पहिलो सन्तानका रुपमा जन्म दिएको बच्चाको पेटबाट आन्द्राभुडी बाहिर निस्किएको छ ।

Advertisement

‘नर्मल डेलिभरी’ भएको भएपनि बच्चा भने अस्वभाविक जन्मिएको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा.तोर्णराज कटुवालले जानकारी दिए । ‘बच्चाको नाइटो नजिक पेटबाट आन्द्रा र भुडी बाहिरै निस्किएको छ ।’ डा.कटुवालले संगालोखबरसँग भने–‘अस्वभाविक बच्चा जन्मिएपछि थप उपचारका लागि रेफर गरेर पठाएका छौं ।’

बच्चालाई थप उपचारका लागि अहिले काठमाडौंस्थित कान्ति बाल अस्पताल पुर्याइएको उनका वुवा हरीबहादुरले बताए । कान्ति बाल अस्पतालमा बच्चाको अप्रेशन गरेर आन्द्राभुँडीको केही भाग पेटभित्र पसाइएको छ । डाक्टरले अझै अर्को पटक पनि अप्रेशन गर्नुपर्ने बताएका छन् । तर, अप्रेशन गर्न पैसा अभाव भएको वुवा हरीबहादुरले गुनासो गरे । ‘धरान र विराटनगरका तीन/चार वटा अस्पतालमा घुमायौं, नभएपछि काठमाडौं लगेका हौं ।’ हरीबहादुरले भने–‘अहिलेसम्म तीन लाख जती खर्च भइसक्यो, अझै कति लाग्छ टुंगो छैन । पैसा नभएर छोरीको उपचार गर्न समस्या भइरहेको छ ।’

अहिले बच्चालाई एनआईसीयूमा राखेर उपचार भईरहेको छ । अप्रेशनपछि बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!