छथर जोरपाटीका गाउँ–गाउँमा पुगेर अपाङ्गता परिचय पत्र वितरण

धनकुटा । छथर जोरपाटी गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई गाउँमै पुगेर परिचय–पत्र वितरण गर्न थालेको छ । गाउँ–गाउँमा शिविर गरेर मंगलवारवाट अपाङ्गता परिचय पत्र वितरण थालिएको हो । करुणा फाउण्डेशन नेपालको सहयोगमा पहिलो दिन वडा नं. १ हात्तिखर्कबाट परिचयपत्र वितरण शिविर शुरु गरिएको छ ।

शिविर उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष शेरबहादुर लिम्बूले भत्ता लिन मात्र नभएर बिभिन्न सेवा सुविधाका लागि पनि परिचय पत्र आवश्यक पर्ने भएकाले शिविरमा सबै खालका अपाङ्गता भएकाहरुलाई सहभागि हुन आग्रह गरे । कार्यक्रममा करुणा फाउण्डेशन नेपाल जिल्ला कार्यालय धनकुटाका प्रमुख जितेन्द्र श्रेष्ठले कस्तो अपाङ्गता भएकाले कुन प्रकारको परिचय पत्र पाउने जानकारी दिए ।

शिविरमा गाउँपालिका उपाध्यक्ष तथा अपाङ्ग समन्वय समिति संयोजक भीमकला श्रेष्ठ, महिला वालवालिका शाखाका प्रमुख एलिना निरौला, प्रशासन शाखाका अधिकृत नेत्रबहादुर श्रेष्ठ लगायतले परिचय पत्र वितरण गरेका छन् ।

शिविरमा अपाङ्गता परीक्षणका लागि जनरल फिजिसियन प्रसंशा न्यौपाने, आँखा रोग बिशेषज्ञ सचिन लम्साल, नाक कान घाँटी रोग बिशेषज्ञ ललनकुमार चौधरी र फिजियोथेरापिस्ट अर्पना राईको टोली खटिएको छ ।

छथर जोरपाटीमा ३२१ जना अपाङ्गता भएका व्यक्ति रहेको गाउँपालिकाको तथ्यांक छ । जसमध्ये वडा नं. १ मा ८६ जना छन् । अब, ६ वटै वडामा शिविर चलाएर परिचयपत्र वितरण गरिने गाउँपालिकाले जनाएको छ ।

error: Content is protected !!