- संगालोखबर सम्वाददाता

धनकुटा । धनकुटामा एक बालिकामाथि लामो समययता यौन शोषण हुँदै आएको रहस्य खुलेको छ । धनकुटा नगरपालिकाकी १४ बर्षीया दलित बालिकामाथि महिनौं अघिदेखि केहि प्रतिष्ठित व्यक्तिहरुले पटक–पटक यौन शोषण गर्दै आएको रहस्य खुलेको हो ।

Advertisement

चार जना व्यक्तिबाट पटक–पटक यौन शोषणमा पर्दै आएकी ती बालिकामा गर्भ बसेपछि घटनाको रहस्य बाहिर आएको छ । बालिकाको पेट अस्वभाविक रुपमा बढ्दै गएपछि सोधपुछ गर्ने क्रममा यौन शोषणको रहस्य खुलेको हो । ‘घर–गाउँलेले सोधपुछ गर्दा बालिकाले चार जना व्यक्तिको नाम लिएकी छन् ।’ छिमेकी एक व्यक्तिले भने ‘किटबाट परीक्षण गर्दा गर्भ बसेको देखिएपछि अस्पतालमा जाँच गर्न पठाएका छौ ।’

यता, अस्पताल स्रोतले पनि बालिकामा गर्भ बसेको पत्ता लागेको र थप परीक्षण भईरहेको जनाएको छ । बालिकाले चार महिना अघिदेखि नै आफ्नो रजश्वला रोकिएको बताएकी छिन् ।

न्याय माग्दै प्रहरीमा उजुरी

यसैवीच पीडित बालिकाका अभिभावकले यौन शोषणमा संलग्न चार जना व्यक्तिलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका छन् । यौन शोषणमा संलग्न भएको आरोपमा धनकुटा नगरपालिका–६ आत्माराका मदन अधिकारी, आत्माराकै गौरी अत्री, धनकुटा–६ भीमनारायण चौकका देवेन्द्र श्रेष्ठ र धनकुटा–६ कचिडेका भक्तबहादुर मगरबिरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ ।

छोरीले नाम लिएका चारै जनाबिरुद्ध किटानी जाहेरी दिइएको पीडित बालिकाका वुवाले संगालोखबरलाई बताए । आरोपित अधिकारी धनकुटा–६ भीमनारायण चौक स्थित माथ्लो गोकुण्डेश्वर स्कूलका शिक्षक हुन् । श्रेष्ठले भीमनारायण चौकमा खाजा घर चलाउँदै आएका छन् भने अत्री स्थानीय व्यवसायी हुन् ।

बालिकाको भनाई उदृत गर्दै स्रोतले संगालोखबरलाई दिएको जानकारी अनुसार ५०/१०० रुपैयाँ दिएर ६ महिना यता उनीहरुले पटक–पटक घर र जंगलमा लगी शारिरिक सम्पर्क गर्दै आएका थिए । ‘अरु कसैलाई नभन्नु भनेर बालिकालाई दवाव दिदै आएका रहेछन् ।’ स्रोतले भन्यो ‘गर्भ बसेर पेट बढ्नाले मात्र घटना थाहा भयो । नत्र गुपचुप रहने रहेछ ।’

बोल्दैन प्रहरी

यता, पीडित पक्षबाट उजुरी आएको भएपनि प्रहरीले घटनाको बिषयमा केहि बोल्न चाहेको छैन । घटनाको बिषयमा उजुरी आएको भएपनि थप केहि भन्न नमिल्ने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ध्रुवकुमार श्रेष्ठ बताउँछन् । उनी भन्छन् –‘उजुरी आएको छ । घटनाको बिषयमा अनुसन्धान भईरहेको छ । बालिकाको सवाल र अनुसन्धानको क्रममा रहेको बिषय भएकाले अहिले हामीले थप केहि बोल्नै मिल्दैन ।’

प्रहरीले अहिले घटनामा संलग्न व्यक्तिको पहिचान खुलाएको छैन । क–कस्को नाममा उजुरी परेको छ भन्ने बिषयमा संगालोखबरकर्मीको जिज्ञासामा प्रहरी प्रवक्ता श्रेष्ठले घटनामा संलग्न व्यक्तिको पहिचान खुलाउँन नमिल्ने दावी गरे । संलग्न व्यक्तिलाई पक्राउ गर्न प्रहरी निरीक्षकको नेतृत्वमा १७ जना प्रहरी परिचालन गरिएको भएपनि पीडकको पहिचान तत्काल नखुलाईने डिएसपी श्रेष्ठले बताए ।

सम्पादकीय नोट : पीडित बालिकाको गोपनियताका लागि पीडित पक्षसम्बद्ध विवरण र पहिचान खुल्नसक्ने सबै स्रोतहरु गोप्य राखिएको छ ।

 

Update News…

धनकुटामा बालिकालाई यौन शोषण गरेको आरोपमा तीन जना पक्राउ, शिक्षक अधिकारी फरार

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!