धनकुटा । काठमाडौंबाट धनकुटा आउँदै गरेका आठ वटा गाडीलाई बिहिबार राती प्रहरीले भेडेटारमा रोकेको छ । राती जिल्ला भित्रदा जोखिम बढ्ने भन्दै प्रहरीले काठमाडौंबाट आएका गाडीलाई भेडेटारमै रोकेको हो ।
काठमाडौंमा अलपत्र परेका ३ सय ४९ जना धनकुटेलीलाई बोकेर बुधबार राती छुटेका बस २४ घण्टा पछि बिहिबार राती करिव ११ बजे भेडेटार आईपुगेका हुन् । लकडाउनकैवीच आउँने क्रममा बिभिन्न ठाउँमा प्रहरीले रोकेकाले गाडी आईपुग्न ढिलाई भएको हो ।
बाटोमा खाना, खाजा खाने ठाउँहरु बन्द रहेकाले प्रहरी चेकपोष्ट बाहेक अन्त कतै नरोकी आठ वटै बसहरु भेडेटार आईपुगेको गाडीमा सवार खोकुकी अनुकला राईले संगालोखबरलाई बताईन् । ‘लकडाउनका कारण बाटोमा सबै पसलहरु बन्द रहेकाले २४ घण्टादेखि चाउचाउ र चिउराको भरमा भेडेटार आईपुग्यौं ।’ राईले भनिन् ‘भेडेटारबाट प्रहरीले गाडी अगाडी जान दिएन, सबैजना गाडीमै बसेका छौ ।’
जिल्ला प्रशासन कार्यालयको समन्वयमा यात्रुहरुलाई भेडेटारमा राती खाजा खाने व्यवस्था मिलाईएको छ । राती अन्य केही उपाय नभएकाले सबै यात्रुहरुलाई प्रतिव्यक्ति दुई वटा चाउचाउ, दुई वटा बिस्कुट, एउटा फ्रुटी, चकलेट र तीन बोतल पानी निःशुल्क उपलब्ध गराईएको जिल्ला प्रशासन कार्यालय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।
सबै यात्रुलाई शुक्रबार भेडेटारमा स्वास्थ्य परीक्षण गरी पालिकाका प्रतिनिधिहरुलाई जिम्मा लगाएर पठाउँने तयारी गरिएको छ ।
यसअघि प्रकाशित समाचार…