म्याग्दी । बाबियाचौर–३ खुम्ल्याका योगनाथ शर्माले गोठमा पालेको भैंसी बिक्री गरेर श्रीमतीको उपचारमा खर्च गरे। एक वर्षअघि ५० वर्षीया श्रीमती टीकाकुमारीको मिर्गौलामा समस्या देखिएपछि उपचारमा उनले घरमा भएको पशुचौपाया बिक्रीका साथै आफन्त र छिमेकीबाट दुई लाखभन्दा बढी ऋण लिए। विपन्न परिवारका शर्माले पशुचौपाया र अन्नपात बेचेर समेत श्रीमतीको उपचारमा खर्च गरे पनि उपचार पूरा हुन सकेको छैन। ‘अब एउटा भैंसी र खेतका केही फोटा बाँकी छन्। ती पनि बेचेर उपचार प्रयास गरिरहेको छु’, शर्माले भने। आजको नागरिकमा खबर छ ।

टीकाकुमारी गत असारमा लगातार बिरामी भएपछि उपचारका क्रममा चिकित्सकले मिर्गौलामा पत्थरी भएको र मिर्गौलाले समेत काम नगरेको बताए। त्यसपछि शर्माले अञ्चलभित्रका सबै अस्पताल, पोखराका मणिपाल, गण्डकी र काठमाडौंको ओम हस्पिटलसम्म पुगेर उपचार गराए। ‘घरको सबै सम्पत्ति बेच्दा समेत श्रीमतीको उपचार खर्च पुग्ोन। बालबच्चाको पनि बिजोग भएको छ’, शर्माले भने।

Advertisement

ऋण दिएका साहुले समेत ताकेता गर्न थालेपछि समस्या थपिएको उनले गुनासो गरे। ‘अस्पतालमै पैसा सकिएपछि थप उपचार नै छोडेर घर फर्किएँ। अहिले उपचारमा सहयोग खोजिरहेको छु’, उनले भने। छोराछोरीको शिक्षादीक्षाका साथै घरायसी खर्च चलाउन समेत मुस्किल भएको बताउँदै उनले सहयोगको याचना गरेका छन्। ‘सरकारले उपलब्ध गराएको निःशुल्क सेवा खोज्न जाँदा स्वास्थ्यकर्मी हप्काउँछन्। तीनपटक डायलासिससमेत ऋण खोजेर गरें’ शर्माले भने। सरकारले नागरिकलाई सातामा तीनपटकसम्म निःशुल्क डायलासिस सुविधा दिने घोषणा गरेको छ।

शर्माले निःशुल्क सेवाका बारेमा जिज्ञासा राख्दा स्वास्थ्यकर्मीले अमानवीय र तुच्छ व्यवहार गर्ने गरेको अनुभव सुनाए। ‘धनी, बजारमा बस्नेलाई मात्रै रहेछ क्यार निःशुल्क सेवा’, उनले भने।

उनले पोखराको मनिपाल अस्पतालमा निःशुल्क सेवाबारे जिज्ञासा राख्दा त्यहाँका स्वास्थ्यकर्मीले ‘त्यो त नाममात्रको सेवा हो, पैसा तिनुपर्छ’ भनेपछि पोखरामा रहेका आफन्तबाट ऋण लिएर उपचार गराई घर फर्किएको शर्माले बताए।

‘टिभी र रेडियोमा स्वास्थ्यमन्त्री गगन थापाको निःशुल्क सेवासम्बन्धी भाषण धेरै सुनियो तर उनले बोलेअनुसार सेवा प्राप्त गर्न सकिएन’, उनले आक्रोशित हुँदै भने, ‘गरिब जनताका लागि कहिले बन्छ सरकार? कहिले हुन्छ सहज सुविधा?’ उनले पत्नीको उपचारमा २ लाख १५ हजारभन्दा धेरै खर्च गरिसके। मिर्गौला प्रत्यारोपणसहितको सेवासुविधामा अझै खर्च हुने भन्दै रकम जुटाएर आउन चिकित्सकले अनुरोध गरेपछि घरमा फर्किएको शर्माको भनाइ छ। शर्माले पत्नीलाई प्रत्यारोपणका लागि आफ्नै एउटा मिर्गौला दिने भएका छन् तर खर्च अभावमा काम अघि बढ्न सकेको छैन।

शर्माको समस्याबारे जिज्ञासा राख्दा जिल्ला अस्पताल म्याग्दीका प्रमुख डा. रोशन न्यौपानेले विपन्न नागरिक सिफारिस समितिमार्फत राज्यले प्रदान गर्ने निःशुल्क उपचार सेवाका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए। त्यस्तै म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्ति कोषले शर्मालाई सहयोग संकलन अभियान सञ्चालनको घोषणा गरेको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!