
विराटनगर । मोरङको उर्लाबारी नगरपालिका-७ बाट तास खेलिरहेको अवस्थामा प्रहरीले १० जनालाई नियन्त्रणमा लिएको छ । गएराति डिक खड्कीको घरमा सञ्चालित मोबाइल जोन पसलभित्र तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका-७ का २० वर्षीय जलन ठटाल, २४ वर्षीय सुभाष शर्मा र २५ वर्षीय रोशन शर्मा छन् । यस्तै वडा नम्बर ८ का २५ वर्षीय सुमन ढकाल, २६ वर्षीय निरोज धिमाल, २० वर्षीय कमल ढुंगाना र २५ वर्षीय किरण ढुंगाना छन् ।
झापाको दमक नगरपालिका-७ का २६ वर्षीय विनोद ढकाल र वडा नम्बर ५ का २५ वर्षीय दीपक चौधरी तथा मोबाइल जोन पसलका सञ्चालक मोरङको रतुवामाई नगरपालिका-९ का ३८ वर्षीय विवेक बराल पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट पाँच बुङ तास र नगद १२ हजार ६२२ रुपैयाँ बरामद भएको मोरङका प्रहरी प्रवक्ता डीएसपी मकेन्द्रकुमार मिश्रले जानकारी दिए । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।

संगालोखबर 
























