अस्ट्रेलियाले प्रशान्त क्षेत्रको एउटा टापुमा वर्षौँदेखि थुनामा राखिएका एक इरानी पत्रकारले सबैभन्दा ठूलो धनराशिको साहित्यिक पुरस्कार प्राप्त गरेका छन्।

Advertisement

शरणार्थी बन्न अस्ट्रेलिया जान खोज्दा समातिएका बेहरुज बोचानीले थुनाबाट ह्वाट्सएपमा सन्देश पठाउँदै ‘नो फ्रेन्ड बट द माउन्टेन्स: राइटिङ फ्रम मानुस प्रिजन’ लेखेका थिए।

त्यो पुस्तकले एक लाख अस्ट्रेलियन डलर (नेरु ८२ लाख ६० हजार बराबर) राशिको सन् २०१९ को साहित्यतर्फको भिक्टोरियन पुरस्कार जितेको छ। बोचानी अझै पपुवा न्यू गिनीको मानुस टापुमा छन् र उनीसँग अस्ट्रेलिया छिर्ने अनुमति छैन।

मानुस टापुमा भएको हिरासत सन् २०१७ मा बन्द गरिएको थियो र बोचानीसहित त्यहाँ भएका कैदीहरूलाई वैकल्पिक आवासमा सारिएको थियो।

अस्ट्रेलियाले समुद्रमा डुङ्गा चढेर शरणार्थी हुन खोज्नेलाई कुनै हालतमा शरण नदिने नीति लिएको छ। समुद्रबाट ज्यानको जोखिम मोलेर आउने कार्यलाई निरुत्साहित गर्न यस्तो नीति लिइएको अस्ट्रेलियाको दाबी छ।

सहित्यतर्फको पुरस्कारबाहेक बोचनीको पुस्तकले २५ हजार अस्ट्रेलियन डलर (नेरु २१ लाख बराबर) राशिको गैरआख्यानतर्फको भिक्टोरियन पुरस्कार पनि जितेको छ।

अन्य पुरस्कार विजेताले मेल्बर्न सहरमा पुरस्कार थापेर रमाइलो मनाइरहेको बेला बोचानीले बीबीसीसँग कुरा गर्दै पुरस्कारले आफूलाई ‘विरोधाभाषपूर्ण अनुभूति’ दिएको बताए।

“केही कुराले म धेरै खुसी छु किनभने मेरो दु:खबारे धेरैले थाहा पाए…। तर अर्कोतर्फ मलाई खुसी मनाउने अधिकार नभएको अनुभूति भयो किनभने यहाँ दु:ख पाइरहेका मेरा साथीहरू छन्।

“हाम्रो लागि पहिलो कुरा स्वतन्त्रता सहित यो टापुबाट मुक्त हुनु र नयाँ जीवन आरम्भ गर्नु हो।”

बोचानीले हिरासत केन्द्रमा रहँदा आफ्नो अनुवादकलाई फारसी भाषामा ह्वाट्सएपमार्फत् सन्देश पठाउँदै किताब लेखेका थिए।

“ह्वाट्सएप मेरो कार्यालयजस्तो हो,” उनले भने। “मैले कागजमा लेखिनँ किनभने प्रत्येक हप्ता सुरक्षाकर्मीले हाम्रो कोठामा छापा मार्थे। मलाई आफ्नो लेखन हराउने डर थियो। त्यसलै मलाई ह्वाट्सएपमा लेख्दै पठाउँदै गर्न सजिलो थियो।”

बोचानीलाई सन् २०१३ मा डुङ्गाबाट आएका कारण हिरासतमा लिइएको थियो र उनी अस्ट्रेलियाको विवादास्पद हिरासत केन्द्रभित्रको सबैभन्दा परिचित व्यक्ति बने।

उनले ब्रिटेनको गार्डियन समाचारपत्रका नियमित लेख्थे र मानुस टापुको जीवनको बारेमा ट्वीट गर्थे।

उनले आफ्नो फोनमात्रै प्रयोग गरेर हिरासतमा ‘चौका, प्लीज टेल अस द टाइम’ भन्ने डकुमेन्ट्री पनि बनाएका थिए।

बोचानीलाई पपुवा न्यू गिनीले शरण दिए पनि उनी त्यहाँ बस्न चाहँदैनन्।

आफ्नो पत्रकारिताका कारण सरकारको आँखीमा परेपछि इरानबाट भागेको बताउने बोचानीले भने,”म इरानको जेल जान नचाहेका कारण भागेँ, तर अस्ट्रेलियाले मलाई वर्षौँ जेलमा हाल्यो।”

साहित्य पुरस्कारका निर्णायकहरूले उनको पुस्तक ‘साधारण विवरणभन्दा माथि उठेको कला र क्रिटिकल थिअरीको अविश्वसनीय कार्य’ भएको बताएका छन्।

सो पुरस्कारका लागि अस्ट्रेलियन नागरिक वा त्यहाँको स्थायी बासिन्दा हुनुपर्ने तोकिएको भए पनि बोचानीका लागि निर्णायकहरूको अनुरोधमा अपवादको रूपमा पुरस्कार दिइएको बताइएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!