काठमाडौँ, १८ माघ । अघिल्लो महीना काम विशेषले सिंहदरबाट पार गर्न लाग्दा काठमाडौँकी बीना पन्तले लुतोले आक्रान्त भएर लडिरहेको कुकुर देख्नुभयो । कुकुरको घाउबाट रगत बगिरहेको थियो ।

Advertisement

उक्त दृश्यले उहाँको ध्यान तान्यो । तत्कालै गाडी रोकेर कुकुरको उद्धार गरी बूढानीलकण्ठ नगरपालिका–६ स्थित विष्णुमति किनारमा रहेको ‘करुणा पशु स्याहार’ केन्द्रमा लैजानुभयो । उपचारपछि अहिले कुकुरको घाउमा खाटो बसेको र हिँडडुल गर्न सक्ने भएको छ ।

केन्द्रमा रहेको अर्काे कुकुरको ढाडमा पूरै पोलेको र टाउको खुइलिएको छ । बौद्ध क्षेत्रको मासुपसलतिर जाँदा कसैले रिसले तातोपानी खन्याएर यस्तो अवस्थामा पु¥याएको जस्तो देखिने उक्त कुकुरलाई उद्धार गरेर केन्द्रमा राखिएको छ ।

कतिपय कुकुर गाडीले हानेर घाइते हुनाका साथै अपाङ्गता समेत भएका छन् । कुनैको हर चल्दैन, कुनैको शरीरको पछाडिको भाग चल्दैन । साना बच्चादेखि बूढोसम्मका असहाय, अपाङ्गदेखि हट्टाकट्टा गरी ७० कुकुर यहाँ छन् ।

“यो पनि गाडीले ठक्कर दिएको, त्यो पनि गाडीले ठक्कर दिएको, कतिपयलाई क्यान्सर भएको छ, घाउमा किरा परेका कुकुर छन्, खुट्टा कुहिएका छन्, सबैलाई ल्याएका छौँ, उपचारपछि धेरै निको पनि भएको छ”, वरिपरि झुम्मिएका र लुटपुटिँदै गरेका कुकुरलाई सुमसुम्याउँदै पन्तले आफ्नो अनुभव सुनाउनुभयो ।

“आउ ए झुम्रु, मेरोे माया के छ नि”, आज बिहान आफ्नै छोराछोरीलाई झैं उहाँले बोलाउन नभ्याउँदै यत्रतत्र रहेका कुकुर घ्वाङ्घ्वाङ र घुङ्घुङ गर्दै आइपुगे । कति अगाडिका दुई खुट्टा उचालेर लहसिए, कतिले खानेकुरा मागे, केही कुकुरले कुइँकुई गर्दै आत्मियताको भाव झल्काए । खुट्टा घाइते भएका कुकुर पनि सकिनसकी लम्किन्थे र काखमा लुटपुटिन्थे ।

उहाँले आफ्नै घरमा पनि सडकबाट उठाएका तीन कुकुर राख्नुभएको छ । “पहिले कस्तो बिरामी थियो, अहिले ठिक भयो, मेरो घरपरिवारबाट पनि ठूलो सहयोग मिलेको छ र म यसरी छाडा कुकुर तथा सहयोगापेक्षी मान्छेको उद्धारमा खटिन भ्याएको छु”, पन्त भन्नुहुन्छ ।

उहाँ कुकुरको उद्धारमा नै दिनभर खटिनुहुन्छ । सडकमा छाडा छाडिएका हरेक पालुवा जनावरहरुमा मन जान्छ । दिनको धेरैजसो समय सडकसडक दगुर्दैमा बित्छ । कतैबाट फोन आयो भने असहाय पशुहरुको उद्धारमा लाग्नुहुने पन्त बाटोमा हिँड्दै गर्दा असहाय गाई, कुकुर बसेको देख्ने बित्तिकै सके आफ्नै गाडीमा नसके ट्याक्सीमै हालेर पनि केन्द्रमा पुर्याउनुहुन्छ ।

स्याहार केन्द्रमा विगतमा सबै काम समितिका सदस्यहरुले नै गरे पनि अहिले पैसा दिएर कुकुरको रेखदेखमा दुईका साथै एक सुपरिवेक्षक पनि राखिएको छ । उनीहरूको तलबभत्तामा समस्या हुँदा सञ्चालक समिति सदस्यहरु आफैँ पैसा उठाएर दिने गरेको उहाँ बताउनुहुन्छ । यहाँ पालिएका कुकुरलाई बन्ध्याकरण गरी बलियो बनाएर उसको पुरानै ठाउँमा छाड्ने गरिएको छ । “त्यहाँका बासिन्दाई भनेर, सम्झाएर, खाना दिनोस् भनेर कुकुर छाड्ने गरेका छौँ, पन्त भन्नुहुन्छ, “कुकुर पनि आफ्नो रैथाने ठाउँमा पुग्दा रमाउँछ, खुशी हुन्छ, बलियो भएपछि कुदेर खान सक्छ नि”, यहाँ अहिले घाइते र अपाङ्ता भएका ७० कुकुर छन् ।

कुकुरलाई बन्ध्याकरण पछि सडकमा नआए उनीहरु जोखिममा पर्दैन् भन्ने लक्ष्य संस्थाको छ । दश वर्षमा काठमाडौँका सडकलाई छाडा चौपायरहित बनाउने लक्ष्य छ । अहिलेसम्म ३५० कुकुरलाई उद्धारपछि उपचार गरेर सडकमा छाडिएको र १२० कुकुरलाई बन्ध्याकरण गरिसकिएको छ ।

मेरा घरको कुकुरजस्तै सडकका पनि हुन्, मेरो छोराछोरी प्यारो, सडकका छोराछोरी प्यारो नहुने भन्ने त होइन नि । उहाँलाई आफूले पालेको एउटा कुकुर मरेपछि यस्तै महसुस भयो । पहिला क्याट नेपाल, एनिमल नेपाल, नेपाल एनिमल वेलफेयर सेन्टरलगायतसँग मिलेर उद्धार, उपचार बन्ध्याकरणका कार्यक्रममा सहभागी हुनुभएकामा पन्त अहिले आफैँले असहाय पशुको उद्धार गर्दै पालनपोषणमा खटिनुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!