धनकुटा, १२ भदौ । धनकुटामा पनि मंगलवार हिलेजात्रा पर्व मनाईएको छ । स्थानीय टुँडिखेलबाट सुरु भएको हिलेजात्रा नगरपरिक्रमा गरी पुनः टुँडिखेलमा पुगेर समापन भएको हो ।
रोपाई जात्रामा मान्छेलाई गोरुको रुपमा नारेर हिडाई हातमा बिउ बोकेर रोपार र कोदाली बोकेर लाठे निश्किएका थिए । केटाले केटिको पहिरन र केटिले केटाको पहिरन लगाएर युवा युवतीहरु झाँकिसहित जात्रामा निश्किएका थिए ।
असार र साउनमा रोपाई सकेर मनोरञ्जन गर्नुपर्छ भन्ने मान्यताले रोपाई जात्रा मनाउँने गरिएको नेवा पुचः धनकुटाका अध्यक्ष नबिन किशोर शाक्यले बताए । उनका अनुसार नेवारी समाजको कला संस्कृति जगर्ने गर्न पनि पर्व मनाउँने गरिएको छ ।
हिलेजात्राको प्रसंग नेवार जातीको खेतीकर्म र पौराणिक कालमा देव–दैत्यबीचको द्वन्द्वसँग जोडिएको बताइन्छ । महादेव र देवासुरबीच महासंग्राम भएको र अन्त्यमा देवासुरले भाद्र कृष्ण द्वितीयका दिन घुँडा टेकेकाले सोहि दिनलाई आधार मानेर जात्रा मनाउन सुरु भएको मान्यता छ ।