धनकुटा, २६ साउन । धनकुटा नगरपालिका ४ नं. वडा कार्यालयले विपद व्यवस्थापनमा युवाहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पूर्व तयारी भएमा विपदबाट बच्न सकिने बताए ।
फरक प्रसंगमा उनले नगर प्रमुखमा निर्वाचित हुँदा धेरै गर्न सकिएला भन्ने लागेको भएपनि सिमित बजेटका कारण सोचेजति काम गर्न नसकिएको उल्लेख गरे ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई जिल्ला युवा समिति र सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर ६ नं. गूल्मले संयोजन गरेको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल गुल्म हेडक्वाटर ६ नं. गूल्मले सहभागीलाई प्रकोपका प्रकार, प्रकोपको पूर्वतयारी, प्रकोप पश्चात गरिने कार्य, विपदका असर, विपदका कारण लगायतका विषयमा जानकारी गराएको गूल्मका डिएसपी बालकृष्ण श्रेष्ठले जानकारी दिए ।
कार्यक्रममा जिल्ला युवा समिति अध्यक्ष अर्जुन छाराहाङ, उद्योग वाणिज्य संघका उपाध्यक्ष तारा तितुङ, नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति नरेन्द्र पोख्रेल, धनकुटा नगरपालिका वडा नं. ४ का अध्यक्ष जमशेर राई लगायतले विपदबाट बच्न सबै चनाखो हुनुपर्ने बताएका छन् ।