धनकुटा, २३ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिम्सुवा खोलामा रहेको नमस्ते झरना ब्यवस्थापनको काम सकिएको छ ।
गत असार १ गते झरनाबाट ढुंगा खसेर एक जनाको मृत्यु भएपछि झरना ब्यवस्थापनका लागि भन्दै झरना अवलोकन गर्न जाँन रोक लगाईएको थियो ।
आवागमन बन्द गरेर झरनाको दायाबायाँ माछिकाँडे जाली लगाइएको हो । झरनामा ढुङ्गा नझर्ने गरी माछीकाँडे जाली लगाईएको व्यवस्थापन समितिका संस्थापक अध्यक्ष अग्नी लिम्बूले बताए ।
झरना ब्यवस्थापनको काम सकिएपछि अव अवलोकनका लागि खुल्ला गर्ने तयारी गरिएको छ । झरनामा पूर्वी नेपालका बिभिन्न जिल्लासँगै भारतको दार्जेलिङ, बिहार लगायतका ठाउँबाट सयौंको संख्यामा पर्यटक पुग्ने गरेका थिए ।
दैनिक १ हजार ५ सयसम्म पर्यटक पुग्ने गरेको नमस्ते झरनामा असुरक्षाको कारण प्रवेश रोक लगाईदा पर्यटकहरु त्यसै फर्किनु परेको थियो ।
तर, अव झरना सुरक्षित बनाएर प्रवेश खुल्ला गर्न लागिएकाले पर्यटकको संख्या अझै बढ्ने झरना ब्यवस्थापन समितिको अनुमान छ ।