- संगालोखबर सम्वाददाता

धनकुटा, २४ जेठ । सशस्त्र प्रहरीका डिएसपीको संलग्नतामा शसस्त्रकै गाडीमा राखेर गरिएको सखुवाको अवैध काठ तस्करीका बिषयमा छानविनका लागि जिल्ला बन कार्यालय धनकुटाले बिहिबार अनुसन्धान अधिकृत खटाएको छ ।

सहायक जिल्ला बन अधिकृत शिवसंकर ठाकुरलाई अनुसन्धान अधिकृतका रुपमा खटाईएको जिल्ला बन अधिकृत कृष्णप्रसाद वस्तीले संगालोखबरलाई जानकारी दिए ।

संखुवासभाको चैनपुरबाट करिव एक सय क्यूफिट सखुवाको अवैध काठ बिराटनगर लैजादै गर्दा चैनपुर स्थित सशस्त्र प्रहरीको अरुण गुल्मको बा.१ ग.१६६९ नम्बरको गाडीलाई गत सोमबारसाँझ मुलघाटबाट नियन्त्रणमा लिईएको थियो ।

अवैध काठ तस्करीमा अरुण गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद भण्डारीको संलग्नता देखियो । काठ वरामद लगत्तै मुलघाटमा काठ राखेर गाडीलाई सुनसरीको पकली स्थित सशस्त्र प्रहरीको बाहिनी पुर्याईयो ।

बन पैदावार बरामद भए तत्काल बन कार्यालय वा अदालतमा बुझाउँनु पर्ने प्रावधान भएपनि सशस्त्र प्रहरीले अनुसन्धानका लागि भन्दै तीन दिनसम्म पनि काठ, सवारी र संलग्न ब्यक्तिलाई बुझाएन ।

बन कार्यालयलाई थाहा भएरपनि आधिकारीक जानकारी नआएको भन्दै मौन बसेपछि घटनाको सम्पूर्ण नालिवेलीसहित ‘धनकुटामा शसस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा, यस्तो छ रहस्य’ शिर्षकमा बिहिबार बिहान संगालोखबरले प्राथमिकताका साथ समाचार प्रकाशन गरेको थियो ।

सशस्त्र प्रहरीको गाडीबाट ल्याईएको सखुवाको अवैध काठ । तस्वीर : संगालोखबर

संगालोखबरले ‘तस्करीमा डिएसपीको संलग्नता पुष्टि’, ‘सामुदायिक बनबाट अवैधानिक रुपमा काठ दिईएको प्रमाणित’, ‘धनकुटाका एसपीले किन छोडे अवैध काठ ?’, ‘अनुसन्धानका नाममा सशस्त्रले गर्दैछ आफुखुशी’ र ‘बन कार्यालय मौन’ सहायक शिर्षक राखेर बिस्तृतमा समाचार प्रकाशन गरेपछि सम्बन्धित निकायले चासो देखाएका हुन् ।

समाचार प्रकाशित भएलगत्तै बन कार्यालयले घटनाको छानविनका लागि अनुसन्धान अधिकृत खटाएको हो ।

संगालोखबरमा प्रकाशित समाचारले थप ध्यानाकर्षण भएर तत्काल अनुसन्धान अधिकृत खटाई आवश्यक कारबाही प्रकृया अघि बढाईएको जिल्ला बन अधिकृत वस्तीले बताए । अनुसन्धान अधिकृत ठाकुरले बिहिबारबाटै काम सुरु गरेका छन् ।

सशस्त्र प्रहरीले रातारात बुझायो काठ

यसैवीच सशस्त्र प्रहरीकै गाडीबाट बरामद भएको सखुवाको अवैध काठ बिहिबार राती जिल्ला बन कार्यालयलाई बुझाईएको छ । काठ बुझाउँन ढिलाई भएको बिषयमा समाचार प्रकाशित भएर सर्वत्र चर्चा भएपछि सशस्त्रले रातारात काठ बुझाएको स्रोतले जनाएको छ ।

राति ११ बजे बन कार्यालयमा काठ बुझाईएको हो । काठ बुझाउँनका लागि बाहिनीबाट डिएस्पी डम्बर बिष्टको तेतृत्वमा प्रतिनिधिमूलक टोली धनकुटा आएको थियो । सशस्त्र प्रहरीको टोली र बन कार्यालयका अनुसन्धान अधिकृत आवश्यक प्रकृया मिलाउँन राति अबेरसम्म पनि तल्लिन थिए ।

दिउँसोबाटै काठ बुझाउँने प्रकृया थालिएकाले कार्यालय समय सकिएपनि अर्को दिन लाग्न अर्थात १२ बज्नु अगावै दौडधुप गरेर काठ बुझाईएको हो । यसअघि संगालोखबरसँगको कुराकानीमा सशस्त्र प्रहरीका डिआईजी मनदिप श्रेष्ठले काठ बुझाउँन केहि ढिलाई भएको स्वीकार गर्दै तत्काल बुझाईने प्रतिक्रिया दिएका थिए ।

संगालोखबरलाई प्राप्त जानकारी अनुसार सशस्त्रले बन कार्यालयलाई काठ मात्र बुझाएको छ । तस्करीमा संलग्न डिएसपीसहितका ब्यक्ति र प्रयोग गरिएको सवारीलाई बन कार्यालयले मगाउँदा तत्काल उपस्थित गराउँने गरी कागज गरिएको स्रोतको भनाई छ ।

तस्करीमा संलग्न डिएसपीलाई सशस्त्रको बाहिनीमा झिकाईएको छ । अनुसन्धान पश्चात कारबाही प्रकृया सुरु हुने बताईएको छ ।

यसअघि प्रकाशित समाचार पनि हेर्नुहोस् ….

धनकुटामा सस्त्रको गाडीमा भेटिएको अवैध काठ प्रकरण : डिएसपीनै तस्करीमा, यस्तो छ रहस्य

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!