- रबिन कटेल/संगालोखबर

धनकुटा, २४ जेठ । सखुवाको अवैध काठ तस्करी गर्न सशस्त्र प्रहरीका डिएसपीले सशस्त्रकै गाडी प्रयोग गरेको तथ्य फेला परेको छ । धनकुटाको मुलघाटमा सशस्त्र प्रहरीकै गाडीबाट सोमबारराति सखुवाको अवैध काठ बरामद भएपछि काठ तस्करीमा सुरक्षा निकायकै संलग्नता पुष्टि भएको हो ।

Advertisement

संखुवासभाको चैनपुरबाट सखुवाको अवैध काठ बिराटनगर लैजादै गर्दा चैनपुर स्थित सशस्त्र प्रहरीको अरुण गुल्मको बा.१ ग.१६६९ नम्बरको गाडी मुलघाटबाट नियन्त्रणमा लिईएको छ ।

गाडीबाट करिव एक सय क्यूफिट सखुवाको चिरान काठ वरामद भएको मुलघाटका सशस्त्र प्रहरी निरीक्षक दुर्गा भट्टले संगालोखबरलाई जानकारी दिए ।

उनका अनुसार सशस्त्र प्रहरीको ट्रकको पछाडी त्रिपालले छोपेर लैजादै गरेको अवस्थामा काठ फेला परेको हो । उक्त काठको बजार मुल्य करिव ७ लाख पर्छ ।

तस्करीमा डिएसपीको संलग्नता पुष्टि

सखुवाको अवैध काठ तस्करीमा चैनपुर स्थित सशस्त्र प्रहरीको अरुण गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) रामप्रसाद भण्डारीको संलग्नता पुष्टि भएको छ ।

उनकै निर्देशनमा सशस्त्र प्रहरीकै गाडीमा राखेर उक्त काठ बिराटनगरका काठ ब्यापारी राम राईलाई बुझाउँन लैजादै गरेको बुझिएको छ । संगालोखबरसँगको कुराकानीमा डिएसपी भण्डारीले आफैले काठ पठाएको स्वीकारसमेत गरेका छन् । सशस्त्र प्रहरीको टहरा निर्माणका लागि फर्निचर बनाउँन विराटनगरका राम राईलाई काठ पठाएको उनको दावी छ ।

संखुवासभामै दर्जनौं फर्निचर उद्योग छन् । छिमेकी जिल्ला तेह्रथुम, धनकुटा र सुनसरीमा पनि प्रसस्त फर्निचर उद्योग छन् । तर, अवैध काठ चार जिल्ला पार गरेर बिराटनगर पुर्याउँने हिसावले रातारात लैजानुले डिएसपी भण्डारीको दावीलाई गलत सावित गराएको प्रस्ट देखिन्छ ।

सशस्त्र प्रहरीको गाडीबाट ल्याईएको सखुवाको अवैध काठ । तस्वीर : संगालोखबर

यता बिराटनगरका काठ ब्यापारी राईले काठ लिने कुरा नभएको जिकिर गरे । डिएसपीसँग आफ्नो राम्रो चिनजान रहेको बताउँदै उनले भने ‘उहाँले काठ चिर्न पठाउँछु भन्दै हुनुहुन्थ्यो, मैले त्यहि चिर्नुहोस् यता ल्याउँन मिल्दैन भनेको थिए ।’

काठका बिषयमा डिएसपी र काठ ब्यापारी राईवीच कुरा भएको दुवै पक्षले स्वीकार गरेपनि दुईवीचको कुरा मेल नखानुले अवैध काठको तस्करी भएको कुरालाई पुष्टि गर्ने आधार बलियो बनेको छ ।

धनकुटाको जिरोपईन्ट र मुलघाटको प्रहरी चेकपोष्टमा गाडी रोकेर चेक गर्न खोज्दा नरोकि भागेको र सशस्त्रको चेकपोष्टमा नियन्त्रणमा लिईएको मुलघाट प्रहरी चौकी प्रमुख राजेश श्रेष्ठले बताए ।

सामुदायिक बनबाट अवैधानिक रुपमा काठ दिइएको पुष्टि

सशस्त्र प्रहरीको गाडीबाट अवैध रुपमा तराई लैजादै गर्दा बरामद भएको सखुवाको काठ संखुवासभाको चैनपुर स्थित आहाले सिस्ने सल्लेरी सामुदायिक बनबाट ल्याईएको हो ।

उक्त सामुदायिक बन उपभोक्ता समूहले अवैधानिक रुपमा सशस्त्र प्रहरीलाई काठ दिएको प्रमाणित भएको छ । सामान्यतया सामुदायिक बनबाट सोहि बनका उपभोक्ताले मात्र सखुवाको काठ पाउँछन् ।

तस्करीमा संलग्न डिएसपी र बनले दिएको पत्र । यो पत्रका आधारमा मात्र काठ लैजान पाईदैन ।

उपभोक्ताको प्रयोगबाट बढी भएको काटानयुक्त काठ बाहिर कसैलाई दिनका लागि यसअघिनै कार्ययोजना स्वीकृत गर्नुपर्ने र जिल्ला बन कार्यालयबाट अनुमति लिनुपर्ने प्रावधान छ । तर, यी दुवै बैधानिक प्रावधान विपरित पत्रका भरमा सखुवाको लाखौं मुल्य वरावरको काठ निःशुल्क दिईएको हो ।

पहिलेपनि यसरीनै दिने गरिएकाले कार्ययोजना स्वीकृत नगरि काठ दिईएको बन उपभोक्ता समितिका अध्यक्ष उद्धवप्रसाद गौतमले संगालोखबरलाई बताएका छन् ।

धनकुटाका एसपीले किन छोडे अवैध काठ ?

अवैध रुपमा सशस्त्र प्रहरीको गाडीमा राखेर तराई लैजादै गरिएको सखुवाको काठ सोमबारसाँझ हिलेमा प्रहरीले करिव दुई घण्टा रोक्यो । धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) सुरेन्द्रबहादुर गुरुङलाई उक्त कुरा जानकारी थियो ।

काठ फेला परेपछि एसपी गुरुङले सशस्त्रका डिएसपी भण्डारीलाई सम्पर्क गरे । काठ पठाउँने डिएसपी भण्डारीले एसपी गुरुङलाई भाईबरमार्फत पत्र पठाईदिए । नियम बिपरित काठ दिने क्रममा सामुदायिक बन उपभोक्ता समितिले लेखेको पत्र एसपीले पाए ।

पत्र देखेपछि आफुले काठसहितको गाडी जान दिएको एसपी गुरुङ बताउँछन् । तर, अवैध रुपमा ल्याईएको काठको बिषयमा बिस्तृतमा नबुझी छोड्नुले एसपी गुरुङ प्रति प्रश्न उठेको छ ।

अनुसन्धानका नाममा सशस्त्रले गर्दैछ आफुखुसी

सशस्त्र प्रहरीको गाडीबाटै अवैध काठ बरामद भएपछि सुनसरीको पकली स्थित सशस्त्र प्रहरीको बाहिनीबाट रातारात एक टोली मुलघाट आयो । शसस्त्र प्रहरीका डिएसपी डम्बर बिष्ट नेतृत्वको टोली रातिनै मुलघाट आएको थियो ।

तस्करीमा प्रयोग गरिएको सशस्त्र प्रहरीको गाडीलाई अनुसन्धानका लागि भन्दै पकली स्थित बराह बाहिनी लगिएको छ । तर, काठ भने मुलघाटमै छ । अवैध बन पैदावार फेला परेमा तत्काल बन कार्यालय वा अदालतमा बुझाउँनुपर्ने प्रावधान छ । तर, सशस्त्र प्रहरीले भने तस्करीमा प्रयोग भएको गाडी र काठलाई तीन दिनसम्म पनि बन कार्यालयमा बुझाएको छैन ।

सशस्त्र प्रहरीको बाहिनीले एसपी गुणखर खनालको नेतृत्वमा छानविन समिति बनाएर अनुसन्धान थालेको छ । अवैध काठ तस्करीमा संलग्न डिएसपी भण्डारीलाई बाहिनी झिकाईएको छ ।

बन कार्यालय मौन

सशस्त्र प्रहरीको गाडीमा अवैध काठ बरामद भएलगत्तै जिल्ला बन अधिकृत कृष्णप्रसाद वस्तीले जानकारी पाएका थिए । पत्रकारहरुले सो बिषयमा पटक-पटक बन अधिकृत वस्तीसँग सम्पर्क गरे ।

तत्काल बन कार्यालयमा काठ बुझाउँनुपर्ने प्रावधान भएपनि तीन दिनसम्म पनि बुझाइएको छैन । तरपनि आधिकारीक जानकारी नआएको भन्दै बन कार्यालय मौन बसेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!