भूकम्पबाट तहसनहस भएको गोर्खाको लाप्राक बस्ती पुनर्निर्माणका लागि गैरआवासीय नेपालीहरुले ६१ हजार अष्ट्रेलियन डलर (५० लाख रुपैयाँ) सहयोग गरेका छन् ।  गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको पहिलो राष्ट्रिय उद्यमी सम्मेलनमा एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष  डा. शेष घलेलाई सो रकम हस्तान्तरण गरिएको छ ।

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका कार्यसमिति सदस्यहरु उपस्थित भएर डा. घलेलाई ६१ हजार अष्ट्रेलियन डलरको चेक हस्तान्तरण गरेका थिए ।

एनआरएनले गोरखा भूकम्पको केन्द्रविन्दु लाप्राकमा नमूना बस्ती निर्माण गरिरहेको छ जसको शिलान्यास प्रधानमन्त्री प्रचण्डले गत असोज २१ गते गरेका थिए ।

डा. घलेले लाप्राक बस्ती निर्माण गर्नका लागि प्राप्त भएको यो सबैभन्दा बढी रकम भएको बताए । उनले रकम उपलब्ध गराउने अष्ट्रेलियाबासीलाई धन्यवाद ज्ञापन गरे ।

उनले भने, ‘लाप्राक बस्ती निर्माणका लागि दैनिक चार सय स्वयंसेवकहरु खट्नुपर्ने आवश्यक छ । मौसमको प्रतिकूलताका कारण पनि काम सुचारु भइरहेको छ ।’

लाप्राक बस्ती निर्माणका लागि नेपाली सेनाले आफ्नो फौज पनि परिचालन गरेको भन्दै उनले नेपाली सेनालाई पनि धन्यवाद दिए ।

सोही कार्यक्रममा लाप्राक बस्ती पुनर्निर्माण सम्बन्धी वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।

सिड्नीमा उद्यमी सम्मेलन सुरु हुनुभन्दा ६० घण्टा अगाडि गोर्खाको लाप्राक छोडेका गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा. शेष घले सिड्नी ओर्लिएलगत्तै कार्यक्रम स्थलमा आएका थिए । व्यवसायीहरुको सम्मेलन हलमा उनी प्रवेश गर्दा सहभागीहरुले ताली बजाएर स्वागत गरेका थिए ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!