
धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-७ मुगाका राम तामाङको मलेसियामा मृत्यु भएको छ । अन्दाजी ५० वर्षीय तामाङको ड्युटी समयमा नै मृत्यु भएको हो ।
पाख्रीबासका धुव्र पौडेलका अनुसार तामाङ करिब १५ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा थिए ।
‘उहाँ करिब १५ वर्ष भयो रोजगारीका मलेसियामा जानुभएको’, उनले संगालोखबरसँग भने, ‘सो अवधिमा घर आउने र पुनः जाने क्रम चलिरहेकै थियो । एक्कासि यस्तो खबर सुनियो ।’
उनका अनुसार तामाङको ड्युटीमा रहेको समयमा नै हिजो राति मृत्यु भएको हो । मलेसियाबाट साथीमार्फत पाएको जानकारी उदृत गर्दै उनले तामाङको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने बताए ।
पौडेलका अनुसार मृतक तामाङले करिब १० वर्ष पाख्रीबासको सयपत्री बोर्डिङ स्कुलमा पढाएका थिए । ‘मलाई पनि उहाँले सानोमा पढाउनुभएको थियो’, पौडेलले थपे, ‘ड्युटी समयमै मलेसियामा मृत्यु भएको खबरले स्तब्ध बनाएको छ ।’

संगालोखबर 














