काठमाडौं, १९ कात्तिक । नुवाकोटको सिसडोल क्षेत्रका स्थानीयको अवरोधका कारण करिब एक महिनादेखि काठमाडौं उपत्यकाको फोहोर नियमित रुपमा उठ्न सकेको छैन । काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ नगरपालिकाले फ्याँक्दै आएको फोहोरका कारण सिसडोल क्षेत्र दुर्गन्धित बनेको भन्दै स्थानीयले फोहोर फाल्न दिएका छैनन् ।
फुटपाथ तथा खाली स्थानमा थुप्रिएको फोहोरका कारण काठमाडौं दुर्गन्धित भए पनि महानगरले फोहोर व्यवस्थापनाका लागि प्रभावकारी कदम चालेको छैन ।
काठमाडौंका मेयर विद्यासुन्दर शाक्य भन्छन्, “यो समस्या २०६२ सालदेखिकै हो । काठमाडौंबासीले भर्खरै निर्वाचित भएर आएका हामी जनप्रतिनिधिबाट यत्रो ठूलो समस्याको समाधान खोज्नु उचित होइन । सरकारले मन्त्रीपरिषद्बाटै काठमाडौंको फोहोर व्यवस्थापनका लागि पूर्वाधार विकासको योजना ल्याउनुपर्छ ।”
सयौं कम्पनी, राजश्व शून्य
काठमाडौं उपत्यकामा सयौं निजी कम्पनीहरुले सम्बन्धित महानगर वा सरकारी निकायको नियन्त्रणबाहिर रहेर मनपरी ढंगले फोहोर उठाउने गरेका छन् ।
सर्वसाधारणले फोहोर व्यवस्थापनबाट ती निजी कम्पनीहरुलाई बुझाउँदै आएको सेवा शुल्कबारे काठमाडौं महानगरपालिका अनभिज्ञ छ । “फोहोर उठाएबापत क्लिनर्स कम्पनीहरुलाई घरधनीले कति रकम बुझाउँदै आएका छन्, त्यो हामीलाई थाहा छैन,” काठमाडौं महानगरपालिकाका वातावरण विभाग प्रमुख रविनमान श्रेष्ठले बाह्रखरीसँग भने, “यसवापत उठेको कति पनि रकम महानगरको खातामा आएको छैन । काठमाडौंमा कति कम्पनीले कस्तो प्रक्रियाबाट फोहोर उठाइरहेका छन्, हामीलाई कुनै जानकारी छैन ।”
फोहोर उठाएवापत सर्वसाधारणबाट कुनै राजश्व संकलन नभए पनि फोहोर व्यवस्थापनका लागि सिसडोल क्षेत्रमा वार्षिक करिब १० करोड रुपैयाँ खर्च गर्दै आएको काठमाडौं महानगरको दाबी छ ।
फोहोरबाट फैलने दुर्गन्ध कम गर्ने औषधी खरिद, वृक्षारोपण, त्यसक्षेत्रको रेखदेखका लागि नेपाल प्रहरीलाई दिइने भत्ता र सरसफाइ शीर्षकमा महानगरले उक्त परिमाणको बजेट निकासा गर्दै आएको महानगरका प्रशासन महाशाखा प्रमुख युवराज खनालले बताए ।
फोहोरले भरियो सिसडोल
स्थानीय जनता, सरकार र महानगरबीच बसेको बैठकको निर्णयअनुसार ३ वर्षका लागि २०६२ जेठबाट नुवाकोटस्थित सिसडोलको करिब १५ सय रोपनी क्षेत्रफल जग्गामा काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाको फोहोर अहिलेसम्म थुप्रिँदै आएको छ ।
उक्त क्षेत्र फोहोरको डङ्गुरले भरिएपछि आगामी वर्खामा फोहोरकै कारण त्यहाँका स्थानीयको स्वास्थ्यमा थप असर पर्ने देखिएपछि सिसडोलदेखि १.९ किमी दक्षिणमा रहेको बञ्चरे डाँडामा फोहोर फ्याँक्नका लागि आवश्यक पूर्वाधार निर्माण गर्ने सरकारको तयारी छ ।
“बञ्चरेडाँडाको १७ सय ४२ रोपनी क्षेत्रफल जग्गा सरकारले २०५८ सालमै अधिग्रहण गरिसकेको थियो,” वातावरण विभाग प्रमुख श्रेष्ठले भने, “सिसडोलदेखि यहाँ पुग्ने पुल बनाउन र कित्ता नम्बरमा परेको डाँडालाई कोल्पु खोलाले घेरेका कारण खोलो सोझ्याउँदैमा यत्तिका वर्ष बिते ।”
यसपछि सरकारले यस क्षेत्रको पूर्वाधार निर्माणबाट हात झिकेको श्रेष्ठले बताए । सरकारले उपत्यकाको फोहोरको दीर्घकालीन व्यवस्थापनका लागि २०५८ मा काम थोलेको यस डाँडामा उपत्यकामा दैनिक रुपमा उत्पादित ८ सय ५० मेट्रिकटन फोहोर आगामी ३० वर्षसम्म फ्याँक्न मिल्नेछ ।
सरकारसँग पूर्वाधार विकासको माग
“उपत्यकाको फोहोर व्यस्थापनका मुख्य चुनौती भनेको फोहोर ढुवानीका लागि काठमाडौंदेखि बञ्चरेडाँडासम्म पुग्ने व्यवस्थित मोटरबाटो नहुनु हो,” वातावरण विभाग प्रमुख श्रेष्ठले भने, “यसका साथै सरकारले यहाँका पूर्वाधार विकासका काम चाँडोभन्दा चाँडो सक्नुपर्यो, यसपछि मात्र ललितपुर साथै काठमाडौं महानगरहरुले नियमित रुपमा उपत्यकाको फोहोर उठाउन सक्छौं ।”
हाल काठमाडौंदेखि बञ्चरेडाँडासम्म पुग्ने सामान्य मोटरबाटो रहे पनि ठूला गाडी चल्न सक्ने एकतर्फी सडक निर्माण हुनुपर्ने काठमाडौं महानगरपालिकाको अडान छ ।
हाल फोहोर फ्याँक्नका लागि काठमाडौंबाट दैनिक १ सय ५० वटा ट्रिपर सिसडोल पुग्ने गरेका छन् । जसमा २० वटा ट्रिपरमात्र सरकारी निकायका हुन् ।
के भन्छन् स्थानीय ?
उपत्यकाको फोहोरले दुर्गन्धित बनेको सिसडोल क्षेत्रका स्थानीय यहाँ थुप्रिएको फोहोरकै कारण आफूहरु बिरामी पर्ने गरेको, बालीनालीले राम्रो उत्पादन नदिएको र चौपाया बिरामी परेको बताउँछन् ।
यसलाई ध्यान दिँदै सरकारले उचित क्षतिपूर्ति र मुआब्जाको व्यवस्था गरिनुपर्ने सिसडोलका ४५ वर्षिय कुमारबहादुर बलामीले बताए ।