सुनसरी । इटहरी उपमहानगरपालिका-१३ खनारमा मोटरसाइकल र स्कुटर ठोक्किँदा ससुराको मृत्यु भएको छ । बुहारीसहित तीन जना घाइते भएका छन् ।
खनारस्थित कालीमन्दिर अगाडि उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १-०२-०५६ प ७५५६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएर बाटो क्रस गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर आपसमा ठोक्किएका हुन् ।
दुर्घटनामा परी स्कुटर चालक स्थानीय ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको छ । टाउकोमा गम्भीर चोट लागेका रिजालको उपचारका क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार ३३ वर्षीया बबिता रिजाल घाइते भएकी छन् ।
मृतक गोपाल र बविता ससुरा-बुहारी हुन् । मोटरसाइकल चालक कोसी गाउँपालिका-८ का २६ वर्षीय आसिक आलम र पछाडि सवार इटहरी १४ का २५ वर्षीया विनिता पाठक पनि घाइते छन् ।
घाइते बविताको विराट टिचिङ हस्पिटल र अरुको गोल्डेन हस्पिटल विराटनगरमा उपचार भइरहेको छ ।