झापा, १५ कात्तिक । दक्षिणी झापाका किसानलाई यतिवेला हात्तीबाट धानबाली कसरी जोगाउने भन्ने चिन्ताले सताएको छ । धान पाक्न थालेसँगै हात्तीको रजाइँ सुरु भएपछि किसान चिन्तित बनेका हुन् ।
भारतीय जंगली हात्ती मेची नदी पार गर्दै नेपाल छिर्ने क्रम अझै रोकिएको छैन । नेपाल पसेका १३ वटा हात्तीले झापाको दुवागढी, ज्यामिरगढी, चन्द्रगढी, पृथ्वीनगर, बालुबाडी, केचना, गरामनी, हल्दिबारी, जलथल, पथरिया, घेरावारीलगायत स्थानमा सबैभन्दा बढी क्षति गर्ने गरेका छन् । दुई दशकयता झापाको प्रमुख समस्याका रूपमा रहेको हात्ती–मानव द्वन्द्व नियन्त्रणमा धेरै प्रयास पनि गरिए ।
तर, यो प्रयास प्रभावकारी नबन्दा मान्छे र हात्ती मारिने क्रम रोकिन सकेको छैन । आर्थिक वर्ष ०६७÷६८ देखि ०७३÷७४ सम्ममा २८ जनाले झापामा जंगली हात्तीको आक्रमणमा परी ज्यान गुमाएका छन् ।
यही अवधिमा ८ वटा हात्ती मान्छेका कारण मरेका छन् । आर्थिक वर्ष ०७२÷७३ यता सदरमुकाम भद्रपुर नगर हात्ती उपद्रोको मुख्य केन्द्र बन्दै आएको छ ।
त्यसअघिसम्म उत्तरी झापाको बाहुनडाँगीका बासिन्दाले हात्तीका कारण सास्ती भोग्नुपरेको थियो । बाहुनडाँगीमा विद्युतीय तारबार (सोलार फेन्सिङ) जडान गरिएसँगै हात्ती दक्षिणी क्षेत्रतिर सरेको स्थानीयको बुझाइ छ ।
धान तथा मकै पाक्ने समयमा भारतबाट हात्ती बाहुनडाँगी प्रवेश गरेर वितण्डा मच्चाउँथे । विद्युतीय तारबार लगाएपछि भारतीय हात्तीको ठूलो समूह नेपाल प्रवेश गर्न सकेको छैन ।
तर, साना साना झुण्ड बनाएर मेची नदी किनारबाट छिरेका हात्तीले ज्यामिरगढी हुँदै दुवागढी, चन्द्रगढी वन क्षेत्र र चारआली तथा जलथलको जंगलमा आश्रय बनाएका छन् । बिगार गर्ने काममा बच्चा भएको पोथी हात्ती बढी सक्रिय देखिन्छन् भने ज्यान लिनेमा भाले हात्ती अगाडि रहेका छन् ।
यस क्षेत्रमा रहेका यी १३ वटा हात्ती यहीँका रैथाने बनेका छन् । अन्नबाली पाक्ने समयमा अन्य आगन्तुक हात्तीको प्रवेश हुने हुँदा झापाका बाहुनडाँगी, बुधबारे, शान्तिनगर, खुदुनाबारी, सुरुंगा, सतासीधाम, दमकलगायत मोरङका उत्तरी क्षेत्रमा पनि हात्तीले कुनै न कुनै रूपमा क्षति गर्ने क्रम रोकिएको छैन ।
उत्तरी झापाको बाहुनडाँगीमा ३० वर्षसम्म प्रमुख समस्याका रूपमा रहेको जंगली हात्ती पूर्ण रूपमा नियन्त्रण हुन नसके पनि ९५ प्रतिशत नियन्त्रण भएको स्थानीयको भनाइ छ ।
एक करोड २० लाख लगानीमा लगाइएको सौर्य ऊर्जा सहितको विद्युतीय तारबारले बाहुनडाँगीमा मानव–हात्ती द्वन्द्व अन्त्य गरिदिए पनि पूर्ण रूपमा समाधान भने भइसकेको छैन ।