संगालोखबर


विराटनगर । आज नवरात्रको दोस्रो दिन माता ब्रह्मचारिणी देवीको पूजाआराधना गरिँदैछ । नवदुर्गाका नौ स्वरूपमध्ये दोस्रो स्वरूपका रूपमा पुजिने ब्रह्मचारिणीलाई तपस्या, त्याग, संयम र दृढ संकल्पकी प्रतीक मानिन्छ ।

धार्मिक मान्यताअनुसार माता ब्रह्मचारिणीले भगवान् शिवलाई पति रूपमा प्राप्त गर्न कठोर तपस्या गरेकी थिइन् । हिमालयकी पुत्रीका रूपमा जन्मिएकी उनले देवर्षि नारदको सल्लाहअनुसार हजारौँ वर्षसम्म कठिन साधना गरेको पौराणिक कथन छ ।

लामो समयसम्म फलफूल र कन्दमूल खाएर तथा पछि सुकेका पातसमेत त्यागेर तपस्या गरेका कारण उनको नाम ब्रह्मचारिणी रहन गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।

‘ब्रह्म’ को अर्थ तपस्या वा ज्ञान र ‘चारिणी’को अर्थ त्यसको आचरण गर्ने भन्ने हुन्छ । यस अर्थमा ब्रह्मचारिणीलाई साधना, ज्ञान र आत्मसंयमको मार्गमा अघि बढ्ने शक्तिका रूपमा व्याख्या गरिन्छ ।

माता ब्रह्मचारिणीको स्वरूप शान्त र तेजोमय रहेको मानिन्छ । उनको एक हातमा जपमाला र अर्को हातमा कमण्डलु हुन्छ । सेतो वस्त्र धारण गर्ने देवीको स्वरूपलाई पवित्रता, शान्ति र सात्विकताको प्रतीकका रूपमा लिइन्छ ।

नवरात्रको दोस्रो दिन भक्तजनले बिहान स्नान गरी शुद्ध भएर देवीको पूजा आराधना गर्छन् । पूजामा सेतो फूल, अक्षता, चन्दन, फलफूल र पञ्चामृत चढाउने परम्परा छ । यस दिन देवीलाई चिनी वा मिठाई अर्पण गर्नु शुभ मानिन्छ । उखु वा चिनी दान गर्दा पुण्य प्राप्त हुने धार्मिक विश्वास पनि रहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!