
विराटनगर । संविधान दिवसको अवसर पारेर प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशले आयोजना गरेको रोड रेस प्रतियोगितामा यु-१५ छात्रतर्फ उज्वल तुम्सिङ्ग र छात्रातर्फ अनिशा कार्की प्रथम हुनु भएका छन् ।
आज विराटनगरस्थित सहिद रंगशालाबाट सुरु भएर सोही स्थानमा सम्पन्न ३ किलोमिटर रोड रेसमा अन्य प्रतिस्पर्धीलाई पछि पर्दै उनीहरू विजयी भएका हुन् ।
यु-१५ छात्रतर्फ समिर राजवंशी द्वितीय र सनम आङदेम्बे तृतीय हुँदा छात्रातर्फ रजिना राई द्वितीय र निमा राई तृतीय भए ।
यसैगरी ५० वर्ष माथिको २ किलोमिटर भेट्रान रेसमा पुरुषतर्फ विजयकुमार राई पहिलो भए । अविनारायण अधिकारी द्वितीय हुँदा मंगल तामाङले तृतीय स्थान हासिल गरे । भेट्रान महिलातर्फ कौशिला तामाङ प्रथम, रिता कुमारी चौधरी द्वितीय र चन्द्रकला कामत तृतीय भए ।
‘स्वस्थ नागरिक, गतिशील संविधान’ भन्ने नारासहित सम्पन्न रेस आयोजना गरिएको हो । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुनेलाई संविधान दिवसको दिन कोशी प्रदेश सरकारले आयोजना गर्ने मूल समारोहमा जनही क्रमशः २५, २० र १५ हजारसहित सम्मानपत्र प्रदान गरिने खेलकुद विकास बोर्डका सदस्य सचिव विप्लव घोषले जानकारी दिए ।

संगालोखबर 














