
विराटनगर । भारतबाट तस्करी गरेर ल्याएर घरमा भण्डारण गरिएको अवस्थामा सशस्त्र प्रहरीले विराटनगर-१७ मटेरुवाबाट ४१ बोरा दाल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म रानीको टोलीले आज दुईवटा घरमा छापा मारेर १६ बोरा केराउ र २५ बोरा चनाको दाल बरामद गरेको हो ।
मटेरुवाका मो. मुन्ना मियाँको घरबाट ११ बोरा केराउ तथा अंगुरी खातुनको घरबाट २५ बोरा चनाको दाल र पाँच बोरा केराउ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद सामान मुन्ना मियाँका भिनाजु गुड्डु मियाँको रहेको खुलेको छ । गुड्डुले भारतबाट भरियामार्फत सामान ल्याएर मटेरुवाका विभिन्न घरमा भण्डारण गर्ने गरेको पाइएको सशस्त्रले जनाएको छ ।
सशस्त्रले बरामद भएको सामान भन्सार कार्यालय रानीमा बुझाएको छ । यसअघि पनि सशस्त्रले तस्करी गरेर ल्याएर भण्डारण गरेका सामान छापा हानेर बरामद गर्दै आएको थियो ।

संगालोखबर 














