संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारको आयोजनामा मनाइने संविधान दिवस तथा राष्ट्रिय दिवस मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । असोज ३ गते शनिबार विराटनगरको सहिद रंगशालामा हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा गरिएको हो ।

कोशी प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाका अनुसार समारोहको सम्पूर्ण तयारी पूरा भएको छ ।

बिहान साढे ६ बजे आदर्श माध्यमिक विद्यालय अगाडिबाट प्रभातफेरी सुरु हुनेछ । त्यसपछि सहिद रंगशालामा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यता तथा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा मूल समारोह आयोजना हुनेछ ।

मूल समारोहमा विभिन्न १६ जातजातिका सांस्कृतिक झाँकी प्रदर्शन हुनेछन् । यस्तै विभिन्न सांस्कृतिक कार्यक्रमका साथै पुरस्कार वितरण लगायतको तयारी छ । संविधान दिवसका अवसरमा आज बिहान खेलकुद बोर्डको आयोजनामा ‘कोशी दौडन्छ’ रोड रेस सम्पन्न भएको छ । रोड रेसको मुख्यमन्त्री हिक्मत कार्कीले उद्‌घाटन गरेका थिए ।

सामाजिक विकास मन्त्रालयले जलवायु परिवर्तन र विपद् व्यवस्थापनमा प्रदेश सरकारको भूमिका विषयमा खुल्ला निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ । निबन्ध प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाउँपालिकाका दुर्गा प्रसाद नेपाल प्रथम भए ।

प्रतियोगितामा काठमाडौंकी रबिना मर्हजन द्वितीय र धादिङका सम्राट श्रेष्ठ तृतीय भएका छन् । यसैगरी ओखलढुगांकी निहारिका धमला, संखुवासभाकी सावित्रा पन्त सुवेदी र इटहरीकी अनुशा रावतले सान्त्वना स्थान हासिल गरे ।

संविधान दिवसका अवसरमा अन्तरसंवाद तथा भिडियो प्रतियोगिता समेत आयोजना हुने छ । यस्तै असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाइमा रक्तदान कार्यक्रम तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाइमा वृक्षारोपण कार्यक्रम तय भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!