
विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पटक-पटक बिदामा बस्दा कार्यालयको काममा समस्या भएको छ ।
महानगर श्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्मा साउन र भदौमा ६२ दिनमा जम्मा २६ दिन मात्र कार्यालयमा हाजिर भए । त्यसमा पनि केही दिन काजमा खटिएका थिए ।
साउनमा शनिबार र आइतबार १० दिन बाहेक अन्य १० दिन र भदौमा सार्वजनिक विदा ९ दिन पर्दा थप ७ दिन शर्मा बिदामा बसेका हुन् ।
असार २ गते प्रमुख प्रशासकीय अधिकृतकारूपमा विराटनगर महानगरपालिका हाजिर भएका शर्मा अधिकांश समय बिदामा बस्ने गरेको महानगर श्रोतको भनाइ छ । प्रमुख प्रशासकीय अधिकृत पटक-पटक बिदामा बस्दा भुक्तानी प्रक्रिया, सेवा प्रवाह लगायतमा प्रत्यक्ष असर परेको जनप्रतिनिधिहरूले गुनासो गरेका छन् ।
निर्माण व्यवसायीहरूले काम सम्पन्न गरेपनि भुक्तानी नपाउँदा आफूहरू दबाबमा परेको वडाध्यक्षहरू बताउँछन् । बुधबार बसेको कार्यपालिका बैठकमा समेत शर्मा उपस्थित नभएका महानगर श्रोतले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत बारम्बार बिदामा बस्दा निर्माण व्यवसायीहरूले लामो समयदेखि भुक्तानी नपाएको गुनासो गरेका छन् । निर्माण व्यवसायी संघ मोरङका अध्यक्ष महेश मिश्रका अनुसार निर्माण व्यवसायीले महानगरबाट झन्डै ८ करोड रुपैयाँ भुक्तानी पाउन बाँकी छ ।
भुक्तानी लिन जाँदा कार्यालयमा हाकिम नै नहुने समस्या धेरै भएको गुनासो आउने गरेको उनले बताए । महानगरबाट समयमा नै भुक्तानी नहुँदा आफूहरू मारमा परेको निर्माण व्यवसायीहरू बताउँछन् ।
निर्माण व्यवसायी संघले भुक्तानी तत्काल अघि नबढे महानगर घेराउ गर्नेसम्मको चेतावनी दिएको छ । अध्यक्ष मिश्रले हाकिम नभएपनि भुक्तानी रोकिन नहुने बताएका छन् ।

संगालोखबर 














