
सुनसरी । बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धनकुटा र धरानमा सम्पर्क कार्यालय स्थापना गरेको छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्न तथा तीर्थयात्रीहरूको सहजताका लागि धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क कार्यालय स्थापना गरेको हो ।
सुनसरी, उदयपुर र धनकुटाका धार्मिक पर्यटन क्षेत्रको प्रवर्द्धन, प्रचार-प्रसार र आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहज तीर्थ गर्ने वातावरण बनाउने काम भइरहेको बृहत्तर बराहक्षेत्र विकास समितिका कार्यकारी निर्देशक अबिजाल बिष्टले जानकारी दिए ।
यस्तै चतरादेखि बराहक्षेत्र मन्दिर परिसरसम्म पुग्ने पूर्वाधार निर्माणको काममा समेत समितिले सहजीकरण सुरु गरिसकेको उनको भनाइ छ । बराह मन्दिर र रामधुनी मन्दिर परिसरमा पनि सम्पर्क कार्यालय खोलेर भेटीलाई व्यवस्थित र पारदर्शी बनाउन लागिएको उनले बताए ।
सुनसरी, उदयपुर र धनकुटाका मुख्य धार्मिक तथा पर्यटकीय ठाउँहरूको राम्रो व्यवस्थापन गर्न र दर्शनार्थीहरूलाई सूचना तथा सेवा दिन सम्पर्क कार्यालय स्थापना गरिएको विष्टले जानकारी दिए ।
भेडेटार चोकमा रहेको डिस्प्लेमार्फत बृहत्तर बराहक्षेत्र विकास समितिले गरेका काम र धार्मिक पर्यटकीय क्षेत्रका तस्बिर प्रर्दशन हुँदै आएको छ । यस्तै विराटनगरको एयरपोर्टमा रहेको डिस्प्ले मार्फत पनि यस क्षेत्रका पर्यटकीय स्थलहरू हेर्ने व्यवस्था मिलाइएको छ ।

संगालोखबर 














