
विराटनगर । विराट मेडिकल कलेजको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्टले १० औं वार्षिकोत्सवको अवसरमा राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ । ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ भन्ने मूल नाराका साथ ‘एचपिइडी-कन २०२६’ नामक सम्मेलन गर्न लागेको हो ।
सम्मेलन असोज १, २ र ३ गते गरी तीन दिनसम्म सञ्चालन हुने आयोजकले आज पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । आयोजकका अनुसार स्वास्थ्य व्यवसाय शिक्षाका विविध विषयमा छलफल, अन्तरक्रिया तथा परामर्श गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।
सम्मेलनमा सम्पूर्ण हेल्थ प्रोफेसनल, मेडिकल डाक्टर, नर्स, एलाइड हेल्थ प्रोफेसनल, फिजियोथेरापिस्ट, पब्लिक हेल्थ विज्ञ लगायत स्वास्थ्यसँग सम्बन्धित विषयको पठनपाठनमा संलग्न शिक्षक तथा विद्यार्थी, नीति निर्माता र अन्तर्राष्ट्रिय प्रशिक्षकहरूलाई एउटै थलोमा भेला हुनेछन् ।
सम्मेलनमा भविष्यमा हेल्थ प्रोफेसन्स एजुकेसन सम्बन्धी तालिम तथा शिक्षण प्रणाली कस्तो हुनुपर्छ भन्ने विषयमा छलफल हुने आयोजक संस्थाका अध्यक्ष प्रा. डा. हेमसागर रिमालले जानकारी दिए ।
यस्तै वर्तमान पठनपाठन प्रणालीमा के-कस्ता सुधार आवश्यक छन् तथा नेपालमा प्रचलित स्वास्थ्य शिक्षा प्रणालीलाई समय सापेक्ष र विश्वव्यापी मापदण्ड अनुरूप कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा पनि प्रस्तुति तथा गहन छलफल हुनेछ ।
नेपालको स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रको विकासका लागि सम्मेलन कोसेढुंगा सावित हुने विश्वास लिइएको उनले बताए ।
सम्मेलनमा स्वास्थ्य क्षेत्रमा संलग्न सम्पूर्ण सरोकारवालाले महसुस गरेका चुनौती तथा समस्यालाई सम्बोधन गरिने छ । सोही अनुसार गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवा जनतासम्म पुर्याउन नयाँ प्रविधिको प्रयोग तथा पाठ्यक्रममा नयाँ अवधारणाका रूपमा रहेको दक्षतामा आधारित चिकित्सा शिक्षाको कार्यान्वयनका अवसर, चुनौती र प्रभावका विषयमा विस्तृत छलफल हुनेछ ।
यसबाट स्वास्थ्य शिक्षा तथा सेवा क्षेत्रको सुधारका लागि नयाँ दिशा र मार्गदर्शन प्राप्त हुने विश्वास गरिएको आयोजकले जनाएको छ । सम्मेलनमा नेपाल, भारत, श्रीलंका, बेलायत लगायतका देशबाट ३०० बढी वरिष्ठ स्वास्थ्य शिक्षाविद् तथा स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागि हुनेछन् ।

संगालोखबर 














