
काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसनका नवनियुक्त अध्यक्ष तथा नेपाली काँग्रेसका नेता डा. सुनील शर्माले मिर्गौला फेल भएकी युवतीको निःशुल्क उपचार गरिदिने भएका छन् ।
आर्थिक अभावका कारण उपचारमा समस्या भोगिरहेकी विदुर नगरपालिका-३ की २४ वर्षीया विनिता माझीको काठमाडौं मेडिकल कलेज (केएमसी) मा निःशुल्क उपचारसहित मिर्गौला प्रत्यारोपण गरिदिने घोषणा शर्माले गरेका हुन् ।
स्नातक तहमा अध्ययनरत माझीलाई साथीहरूले सहयोग जुटाएर १५ दिनदेखि त्रिवि शिक्षण अस्पतालमा उपचार गराइरहेका थिए । त्यहाँ उपचारलाई निरन्तरता दिन कठिन भएपछि माझीकी साथी दामु शेर्पाले नेपाल विद्यार्थी संघकी राष्ट्रिय अध्यक्ष करुणा कटुवाललाई जानकारी गराएकी थिइन् ।
कटुवालले माझीको उपचारका लागि सहयोग मागेपछि शर्माले तीजको दिन उनलाई त्रिविबाट आफ्नो अस्पतालमा ल्याएर निःशुल्क उपचारको जिम्मा लिएका हुन् ।
शर्माले अस्पताल भर्ना भएदेखि उपचार पूरा भएर स्वस्थ भएर घर फर्किंदासम्मको सम्पूर्ण उपचार निःशुल्क गर्ने बताएका छन् । प्रत्यारोपणका लागि आउने मिर्गौला दाता र बिरामीका एक जना कुरुवालाई अस्पतालमा रहँदासम्म खाना पनि निःशुल्क उपलब्ध गराउने उनको घोषणा छ ।
केएमसीका चिकित्सक डा. सुरेश महर्जनका अनुसार माझीको मिर्गौलामा गम्भीर समस्या देखिएपछि डायलासिस सुरु गरिएको छ । उनको फोक्सोमा क्षयरोग (टीबी) समेत देखिएकाले त्यसको पनि उपचार सुरु गरिने अस्पतालले जनाएको छ ।
स्वास्थ्य अवस्था अनुकूल बनाएर सकेसम्म छिटो मिर्गौला प्रत्यारोपणको प्रक्रिया अघि बढाइने ट्रान्सप्लान्ट सर्जन डा. विजयमानसिंह कटुवालले बताए । माझीको उपचारका लागि औषधि तथा औषधिजन्य सामग्रीको खर्च भने सामाजिक पहलबाट जुटाइने विद्यार्थी नेतृ कटुवाल जानकारी दिइन् ।
डा. शर्माले स्वास्थ्य बिमा कार्यक्रमको रकम १० लाख रुपैयाँ पुर्याउन सके यस्ता समस्या धेरै हदसम्म स्वतः समाधान हुने बताए । डा. गोविन्द केसीको आन्दोलनपछि स्वास्थ्य क्षेत्रमा धेरै नराम्रा काम भइरहेको उनको भनाइ छ ।
आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न राज्यले स्वास्थ्य बिमामा पर्याप्त लगानी गर्नुपर्नेमा उनले जोड दिए । केएमसीमा हालसम्म गरिएका मिर्गौला प्रत्यारोपण शतप्रतिशत सफल भएका छन् ।
यसअघि बाढीमा सर्वस्व गुमाएकी ४१ वर्षीया विष्णुकुमारी डंगोलको पनि केएमसी सिनामंगलमा निःशुल्क मिर्गौला प्रत्यारोपणको प्रक्रिया सुरु भइसकेको छ । गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सम्हालेपछि शर्माले केएमसीमा एक हजार विपन्नको निःशुल्क शल्यक्रिया गर्ने घोषणा गरेका थिए ।

संगालोखबर 














