संगालोखबर

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका-४ मा पुर्ख्यौली जग्गाको किचलो र लेनदेन विवादले उग्र रूप लिँदा एउटा परिवार मर्माहत बनेको छ । १५ वर्षदेखि भाइको घर र अंशको रेखदेख गर्दै आएका ६५ वर्षीय दाजु सरुण झा अहिले प्रहरी हिरासतमा पुगेका छन् ।

हरिनगर-४ मा रहेको ६ कट्ठा ३ धुर पुर्ख्यौली जग्गा सरुण र उनका भाइ बरुण झाबीच ३ कट्ठा डेढ धुरका दरले बराबरी अंशबन्डा भइसकेको थियो । विराटनगर बस्दै आएका काकाको आग्रहमा सो सम्पत्तिको रेखदेख आफूहरूले गर्दै आएको सरुणका छोरा निरज झाले बताए ।

‘आफ्नो हिस्सामा नयाँ घर निर्माण भइरहेकाले निर्माण सम्पन्न हुनासाथ काकाको घर छाड्ने तयारीमा थियौँ’, सरुणका छोरा निरजले भने, ‘तर घर खाली गराउने विषयमा विवाद बढेपछि मुद्दा अदालतसम्म पुगेको थियो । जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन विचाराधीन रहेकै अवस्थामा बरुणकी श्रीमती रानी झा (काकी) घर खाली गराउन आउनुभयो ।’

सो क्रममा भदौ २२ गते घर भत्काउन भन्दै काकी आएपछि रोक्न खोज्दा विवाद भएको उनले बताए । तर आफूहरूले अहिले घर नभत्काउन र आफ्नो घर बनिरहेकाले निर्माण सम्पन्न भएपछि सर्ने आग्रह गरेको निरजको भनाइ छ ।

‘हामीले आफ्नो घर बनिसकेपछि सर्ने भनिरहेका थियौँ । घर नभत्काउन भनेर प्रतिकार गर्दा हल्का छोइएछ’, उनले थपे, ‘सोही क्रममा अभद्र व्यवहारको उजुरी हालेर बुबालाई हिरासतमा पुर्‍याइएको छ । घर तोडफोड भएपछि जाहेरी दिन बुबा इलाका प्रहरी कार्यालय गएको बेला त्यहीँबाट जिल्ला प्रहरी कार्यालय पुर्‍याइयो ।’

आफूहरूले समाजमा नै एक-आपसमा छलफल गरेर समस्या समाधान गर्ने आग्रह गर्दा पनि प्रहरीबाट माथिबाट प्रेसर छ भन्ने जवाफ पाएको निरजको दाबी छ । उनका अनुसार उक्त दबाब मोरङ-५ की सांसद आशा झाले दिएकी हुन् ।

‘दबाबको कुरा आएपछि मैले आशा दिदीलाई कल गरे । बुबा बिरामी र वृद्ध हुनुहुन्छ । उहाँलाई यसरी हिरासतमा राखेर हुँदैन भन्ने हिसाबले मैले कुरा गर्न खोज्दा उहाँले सिधै आफ्नो पावर र पँहुचको दम्भ देखाउनुभयो’, उनले थपे, ‘तिम्रो जति पावर लाग्छ, त्यति लगाउनु । गाउँपालिका अध्यक्ष गफार अन्सारीको जति पावर लाग्छ त्यति लगाएर बुबालाई निकाल्न लगाउनु भन्ने जवाफ दिनुभयो ।’

सरुणका छोरा निरजले काकाको परिवारसँग लिन बाँकी ८० हजार रुपैयाँ ऋण र आफूहरूले बनाएको संरचनाको क्षतिपूर्ति माग्दा वृद्ध बुबालाई हतकडी लगाइएको गुनासो गरे । पावरकै कारण पीडित नै पीडक बन्नुपरेको उनको गुनासो छ । आफूहरूले जाहेरी दिँदा प्रहरीले लिन नमानेको उनले बताए । 

प्रतिनिधि सभा सदस्य आशा झाले भने सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै महिलामाथि हातपात गर्नु अपराध भएकाले आफूले पीडित महिलाको पक्ष लिएको उल्लेख गरेकी थिइन् । उनीसँग यो विषयमा बुझ्न सम्पर्क गरिएपनि फोन उठेन । 

सुनसरीका प्रहरी प्रमुख एसपी पुष्पराज मल्लले कुनै राजनीतिक दबाबमा नपरी आफूहरूले घटनाको अनुसन्धान गरिरहेको बताए । ‘भदौ २२ गते पक्राउ गरेर २४ गते अभद्र व्यवहार मुद्दामा म्याद थप भएको हो’, उनले भने, ‘हामीले राजनीतिक दबाबमा परेर नभएर भिडियोमा देखिए अनुसार मुद्दा चलाएका हौँ ।’

अर्को पक्षको जाहेरीका विषयमा भेरिफाइ गर्ने काम भइरहेको उनले बताए । ‘हामीले कानुन बमोजिम गर्ने हो’, उनले थपे, ‘जाहेरी वास्तविकता हो कि हैन भन्ने यकिन गर्ने काम भइरहेको छ । उहाँहरूले चुलो भत्काएको भन्नुभएको छ । तर कसले भत्काएको भनेर देखिएको छैन ।’ 

राजनीतिक दबाबमा मुद्दा दर्ता नभएको उनको दाबी छ । ‘हामीले कानुन अनुसार जे छ त्यही गर्ने हो’, उनले थपे । घटनाका बारेमा निष्पक्ष अनुसन्धान भइरहेको उनले बताए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!