
विराटनगर । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरले कानुनबमोजिम लिलाम बिक्री गरेका रूख कटान गर्ने क्रममा भएको अवरोधप्रति नेपाल वन पैदावार उद्योग व्यवसायी संघ मोरङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
संघका अध्यक्ष रामकुमार दाहालले विज्ञप्ति जारी गर्दै लिलाम सकार गरेका व्यवसायीलाई काम गर्ने वातावरण बनाउन माग गरेका हुन् । क्याम्पस प्रशासनले साविकको कानुनी तथा निर्धारित प्रक्रिया पूरा गरी सार्वजनिक लिलाममार्फत मसला जातका रुखहरू बिक्री गरेको थियो ।
व्यवसायीहरूले विधिवत रूपमा लिलाम सकार गरी कटान सुरु गर्न खोज्दा अभियन्ताका नाममा केही व्यक्तिहरूले अवरोध सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक निकायले गरेको लिलाम वा निर्णयप्रति असहमति भए कानुनी प्रक्रिया वा माथिल्लो निकायमा उजुरी दिने बाटो खुला हुँदाहुँदै कार्यस्थलमै पुगेर अवरोध पुर्याउनु अनुचित भएको संघको ठहर छ ।
यस्तै, सामाजिक सञ्जाल र सार्वजनिक माध्यममा घटनालाई बढाइचढाइ प्रस्तुत गर्दा सामाजिक सद्भाव र शान्तिपूर्ण वातावरण बिग्रन सक्ने भन्दै संघले त्यस्ता कार्यको भर्त्सना गरेको छ ।
वैधानिक रूपमा लिलाम सकार गरेका व्यवसायीको लगानी र व्यावसायिक अधिकारको सुरक्षा हुनुपर्नेमा जोड दिँदै संघले विवादको समाधान संवाद र कानुनी प्रक्रियाबाटै खोज्न आग्रह गरेको हो ।
साथै, व्यवसायीहरूलाई निर्बाध रूपमा कार्य सञ्चालन गर्ने वातावरण मिलाउन र उत्पन्न समस्या तत्काल समाधान गर्न क्याम्पस प्रशासन, डिभिजन वन कार्यालय तथा स्थानीय प्रशासनसमक्ष आग्रह गरिएको छ ।


संगालोखबर 














