
सुनसरी । सुनसरीको इटहरी उपमहानगरपालिका-७ बालग्रामको कल्भर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा इनरुवा नगरपालिका-३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मीको मृत्यु भएको हो ।
आज बिहानको राति करिब २ः५० बजेतिर इटहरीबाट इनरुवातर्फ जाँदै गरेको प्रदेश १-०२-०४३ प ५५१४ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई उपचारका लागि राति नै धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । उपचारका क्रममा रेग्मीलाई बिहान ४ः५२ बजे र थापालाई बिहान ५ः११ चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत कर्मचारी हुन् । उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वकीय सचिवका रूपमा कार्यरत थिए ।
थापा पनि केही समयअघिसम्म जिल्ला प्रशासन कार्यालय सुनसरीमा करारमा कार्यरत रहेको खुलेको छ । घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।

संगालोखबर 














