संगालोखबर


विराटनगर । पाँचथरको मिक्लाजुङ गाउँपालिका-३ का ४८ वर्षीय इन्द्रकुमार दमाईको हत्या आरोपमा प्रहरीले आमा-छोरालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उनकी ४३ वर्षीया श्रीमती र १७ वर्षीय छोरा छन् । प्रहरीले पक्राउ परेकाहरूको नाम भने गोप्य राखेको छ ।

पाँचथरका प्रहरी प्रमुख डीएसपी अनिषकुमार कर्णले घटना शंकास्पद देखिएकाले अनुसन्धानका लागि आमा-छोरालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

‘आमा-छोरालाई नियन्त्रणमा लिएर अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको छौ’, डीएसपी कर्णले संगालोखबरसँग भने, ‘अनुसन्धानपछि बाँकी कुरा खुल्छ । घरायसी विवादका क्रममा घटना भएको हुनसक्ने अनुमान छ ।’

भदौ २० गते मिक्लाजुङ-३ स्थित छिमेकी भइन्द्र राईको पाखाबारीमा इन्द्रकुमारलाई मृत अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । घाँटीमा सलको पासो लगाइएको र शरीरका विभिन्न भागमा धारिलो हतियारले प्रहार गरेको चोटसमेत देखिएको अवस्थामा शव फेला परेपछि प्रहरीले घटना शंकास्पद रहेको भन्दै अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानका क्रममा पक्राउ परेका आमा-छोराले आफ्नै घरमा बन्चरो र दाउले प्रहार गरेर हत्या गरी इन्द्रकुमारलाई नजिकैको आल्चाको रूखमा झुन्ड्याएर त्यहाँबाट ५ सय मिटर तल फालेको खुलेको डीएसपी कर्णले जानकारी दिए ।

उनीहरूलाई घटनामा प्रयोग भएको बन्चरो र दाउसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!