
विराटनगर । विराटनगरको हाटखोलास्थित मोरङ कारागारको ‘बी’ ब्लकबाट १० लाख नगद, ८ थान रड र दुई थान मोबाइल बरामद भएको छ ।
आज दिउँसो नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्तरूपमा ‘बी’ ब्लकमा सर्च गर्दा नगदसहित उक्त सामान बरामद भएको हो । बरामद भएको फोनबाट मनिष विकले अभिषेक गिरीसँग सम्पर्क गर्ने गरेको जानकारी प्राप्त भएको कारागार स्रोतले जनाएको छ ।
‘कारागारको ‘बी’ ब्लक भित्र रहेको पसलबाट १० लाख तीन हजार १५५ रुपैयाँ नगद बरामद भएको छ’, कारागार प्रशासक राजन घिमिरेले संगालोखबरसँग भने, ‘यसैगरी सर्चका क्रममा दुई वटा मोबाइल फोन र ८ वटा फलामे रड पनि बरामद भएको छ ।’
मोरङ प्रहरीले कुन प्रयोजनका लागि नगद र रड राखिएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेको छ । केही कैदीबन्दीका कारण अशान्त बन्दै आएको ‘बी’ ब्लक अहिले भने शान्त भएको छ ।
घिमिरेका अनुसार आज सर्च गर्ने क्रममा कैदीबन्दीले पनि सहयोग गरेका थिए । ‘३७ जना कैदीबन्दीलाई अन्यत्र स्थानान्तरण गरिएपछि वातावरण शान्त बनेको छ’, उनले थपे, ‘यहाँ रहेका अन्य कैदीबन्दीमा पनि त्रास हटेको छ ।’
केही कैदीले ‘बी’ ब्लकमा कब्जा जमाएपछि बारम्बार स्थानान्तरणको प्रयास भएको थियो । सोही क्रममा भदौ १९ गते १९ जना कैदीबन्दीलाई ‘बी’ ब्लकबाट निकालिएको थियो । सोही दिन तीन जनालाई झापा कारागार स्थानान्तरण गरिएको थियो भने बाँकी कैदीबन्दीलाई भोलिपल्ट विभिन्न कारागारमा लगिएको हो ।
यस्तै भदौ २२ गते ‘बी’ ब्लककै १८ जना कैदीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको थियो । घिमिरेका अनुसार कारागारबाट निकालिएका ३७ जनामध्ये ३ जनालाई झापा कारागारमा स्थानान्तरण गरिएको छ ।
यस्तै ५ जनालाई झुम्का, २ जनालाई सप्तरी, ३ जनालाई सिराहा, ३ जनालाई पर्सा, २ जनालाई उदयपुर, ३ जनालाई सिन्धुली, १० जनालाई भीमफेदी, ३ जनालाई चितवन र ३ जनालाई नवलपुर कारागार स्थानान्तरण गरिएको घिमिरेले जानकारी दिए ।
उनीहरूको समूहले कारागारमा रहेका अन्य कैदीबन्दीलाई कुटपिट गर्ने, यातना दिने, रकम असुल्ने लगायतका गतिविधि गर्दै आएका थिए । उनीहरूको स्थानान्तरण भएपछि ‘बी’ ब्लकमा भित्रबाट लगाएको चाबी पनि कैदीबन्दीले हटाएका छन् । आज दिउँसोको तथ्याङ्क अनुसार मोरङ कारागारको ‘बी’ ब्लकमा ५२९ जना कैदीबन्दी छन् ।

संगालोखबर 














