
विराटनगर । गोमन सर्पले डसेकी सुनसरीको इटहरी-५ की ८ वर्षीया बालिका आस्वाना चौहानको अस्पताल डुलाउँदा डुलाउँदै मृत्यु भएको छ । अस्पतालमा पीआईसीयू सेवा नपाउँदा बालिकाको मृत्यु भएको हो ।
बालिकालाई घरभित्र खेल्ने क्रममा बुधवार साँझ गोमन सर्पले बायाँ हातमा डसेको थियो । उनले परिवारका सदस्यलाई सर्पले डसेको जानकारी गराएपछि हेर्दा हातबाट रगत बगिरहेको थियो ।
परिवारका सदस्यका अनुसार उनलाई तत्काल इटहरीस्थित नेपाली सेनाले सञ्चालन गरेको सर्प दंश उपचार केन्द्रमा पुर्याइयो ।
उपचार केन्द्रमा करिब ६ बजेतिर पुर्याइएको अभिभावकले बताएका छन् । तर उपचार केन्द्रले १३ वर्षमुनिका बालबालिकाको उपचार गर्न नसकिने जानकारी गराएपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो ।
बीपी प्रतिष्ठानमा पनि पीआईसीयू सेवा नभएको भन्दै उपचार नभएपछि बालिकालाई मोरङको बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा ल्याइएको थियो ।
अवस्था गम्भीर बनेकी बालिकालाई साँझ करिब ७ः५० बजे विराट ल्याइए पनि राति करिब ८ः१७ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

संगालोखबर 














