
विराटनगर । मोरङ व्यापार उद्योग संघको निर्वाचन आइतबार हुने भएको छ । नयाँ कार्यसमिति चयनका लागि आइतबार दिउँसो २ः३० बजेदेखि साँझ ५ बजेसम्म व्यापार संघको भवनमा निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि सोही दिन बिहान ८ बजे मतदाता नामावली प्रकाशन गर्ने कार्यसूची छ । सोही दिन ८ः३० बजेसम्म मतदाता नामावलीमा दावी विरोधको समय छुट्याइएको छ ।
यस्तै बिहान ९ बजे अन्तिम मतदात नामावली प्रकाशन हुनेछ । बिहान ९ बजेदेखि ११ बजेसम्म उम्मेदवारहरूको मनोनयन पत्र दर्ताको समय निर्धारण गरिएको छ ।
उम्मेदवारको प्रथम नामावली प्रकाशन ११ः१५ बजे हुनेछ । कार्यतालिका अनुसार ११ः१५ देखि १२ बजेसम्म उम्मेदवारहरूको नामावलीमा दाबी विरोधको समय छुट्याइएको छ ।
उम्मेदवारहरूको दोस्रो नामावली प्रकाशन १२ः१५ बजे हुनेछ । यसैगरी १२ः१५ देखि दिउँसो १ बजेसम्म उम्मेदवारहरूले मनोनयन फिर्ताका लागि समय निर्धारण गरिएको छ ।
उम्मेदवारको अन्तिम नामावली दिउँसो १ः३० बजे सार्वजनिक २ः३० बाट मतदान सुरु गर्ने कार्यतालिका निर्धारण गरिएको हो । यस्तै मतदान सम्पन्न भएको आधा घण्टापछि मतगणना प्रक्रिया अघि बढाउने तयारी गरिएको छ ।
कार्यसमिति सदस्य पदमा उम्मेदवार हुनका लागि २५ हजार रुपैयाँ बुझाउनु पर्नेछ । निर्वाचनमा संघ आवद्ध प्रोपाइटर, साझेदार, सञ्चालक र अध्यक्षमध्ये एक जनाले मात्रै मतदान गर्न पाउने व्यवस्था गरिएको छ ।

संगालोखबर 














