संगालोखबर


विराटनगर । जीवन विकास सामुदायिक अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवा विस्तार गर्ने क्रममा थप तीन जना विशेषज्ञ चिकित्सक भित्र्याएको छ । यससँगै अस्पतालमा पहिलोपटक छाला, यौन तथा कुष्ठरोगसम्बन्धी विशेषज्ञ सेवा सुरु भएको छ ।

अस्पतालमा हाडजोर्नी तथा ट्रमा शल्यचिकित्सक डा. प्रमित जैसवाल, छाला, यौन तथा कुष्ठरोग विशेषज्ञ डा. वर्षा अग्रवाल तथा रेडियोलोजी विशेषज्ञ डा. कृष्ण लुइँटेल आबद्ध भएका हुन् ।

नवआगन्तुक विशेषज्ञ चिकित्सकहरूलाई अस्पताल सञ्चालक समितिका संयोजक तेजस्वी मण्डलले स्वागत गरेका छन् । अस्पतालमा यसअघि छाला, यौन तथा कुष्ठरोगसम्बन्धी छुट्टै विशेषज्ञ सेवा उपलब्ध नभएको अवस्थामा डा. वर्षा अग्रवालको आबद्धतासँगै विशेषज्ञ परामर्श तथा उपचार सेवा सुरु भएको अस्पतालले जनाएको छ ।

यसबाट छालासम्बन्धी र यौनरोग तथा कुष्ठरोगसम्बन्धी विभिन्न समस्या भएका बिरामीले स्थानीयस्तरमै सम्बन्धित विशेषज्ञ चिकित्सकबाट परामर्श तथा उपचार सेवा लिन सक्नेछन् ।

त्यस्तै डा. प्रमित जैसवालको आबद्धतासँगै हाडजोर्नी तथा ट्रमा शल्यचिकित्सा सेवा र डा. कृष्ण लुइँटेलको आबद्धतासँगै रेडियोलोजीसम्बन्धी विशेषज्ञ सेवा थप सुदृढ हुने अस्पतालले जनाएको छ ।

अस्पतालले स्थानीयस्तरमै विशेषज्ञ चिकित्सक, आधुनिक निदानात्मक प्रविधि तथा आवश्यक स्वास्थ्य पूर्वाधारसहित गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप विशेषज्ञ सेवा विस्तारलाई निरन्तरता दिँदै आएको हो ।

मोरङको कटहरी गाउँपालिका-२ हल्दीवारीस्थित २ सय शय्याको अत्याधुनिक जीवन विकास सामुदायिक अस्पतालमा आकस्मिक तथा ट्रमा सेवा, ओपीडी, आइपीडी, शल्यक्रिया, मुटुरोग, मस्तिष्क, स्नायु तथा मेरुदण्ड, स्त्री तथा प्रसूति, बालरोग, हाडजोर्नी तथा ट्रमा, छाला, यौन तथा कुष्ठरोग, दन्त, युरोलोजी, ग्यास्ट्रोलोजी, रेडियोलोजी, प्रयोगशाला तथा आईसीयू र क्रिटिकल केयरलगायतका स्वास्थ्य सेवा उपलब्ध छन् ।

अस्पतालमा यमआरआई, सीटी स्क्यान, एक्स-रे तथा अल्ट्रासाउन्ड लगायतका आधुनिक निदानात्मक सेवा पनि उपलब्ध छन् । साथै अस्पतालमा २४ घण्टा आकस्मिक सेवा तथा एम्बुलेन्स सेवा समेत सञ्चालनमा रहेको छ ।

तीन जना विशेषज्ञ चिकित्सकको आगमन र नयाँ विशेषज्ञ सेवाको सुरुवातसँगै अस्पतालले बिरामीलाई आवश्यक विशेषज्ञ परामर्श, निदान तथा उपचार सेवा स्थानीयस्तरमै उपलब्ध गराउने आफ्नो सेवा विस्तारलाई थप अगाडि बढाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!